बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि सञ्चालन गर्न चौधरी फाउन्डेसनको सहयोग
काठमाडौं : गत भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त बनेको नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउन्डेसनले आपत्कालीन सहयोग गर्ने भएको छ।
बाढीका कारण प्रभावित १ हजार ६ सय विद्यार्थीको पठनपाठन चाँडै सुचारु गरी उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्न फाउन्डेसनले यो पहल थालेको हो।
फाउन्डेसनले डिजिटल क्लासरूमका लागि आवश्यक स्मार्ट बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको सुविधा उपलब्ध गराउनेछ। यसका साथै विद्यार्थीका लागि फर्निचर, स्कुल ब्याग र स्टेसनरी सामग्रीसमेत प्रदान गरिने जनाइएको छ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीबीचको छलफलपछि तत्काल वैकल्पिक भवनमार्फत विद्यालय सञ्चालन गर्ने सहमति भएको हो।
चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बालबालिकाको पढाइ प्रभावित हुन नदिन तत्कालै भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिने बताए।
प्रधानाध्यापक दवाडीले वैकल्पिक भवन व्यवस्थापन हुनासाथ पठनपाठन सुरु हुने जानकारी दिँदै सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गरे।
भदौ १६, २०८३ मंगलबार १२:५९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।