ह्वाइट हाउसमा ४० करोड डलरको ‘बलरुम’ बनाउन ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतको अनुमति
एजेन्सी : अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वाकाङ्क्षी योजनाअनुसार ह्वाइट हाउसमा ४० करोड अमेरिकी डलर लागतको ‘बलरुम’ (विशाल सभाहल) निर्माण कार्यलाई निरन्तरता दिन अनुमति दिएको छ।
तल्लो अदालतले निर्माण रोक्न दिएको आदेशलाई उल्ट्याउँदै सर्वोच्चले ५-४ को बहुमतका आधारमा ट्रम्प प्रशासनको पक्षमा फैसला सुनाएको हो।
सर्वोच्च अदालतको यस आदेशसँगै ह्वाइट हाउसको जमिनमा ८ हजार ४०० वर्गमिटर क्षेत्रफलमा फैलिने विशाल बलरुम निर्माणको बाटो खुला भएको छ।
ह्वाइट हाउस प्रशासनका अनुसार यो परियोजना आगामी नोभेम्बरसम्ममा धेरैजसो पूरा हुनेछ भने सन् २०२८ को अगस्टसम्ममा सम्पूर्ण रूपमा सम्पन्न हुनेछ। यसका लागि गत वर्ष ह्वाइट हाउसको ऐतिहासिक ‘इस्ट विङ’ भत्काइएको थियो।
पाँच न्यायाधीशको बहुमतले निर्माण रोक्ने तल्लो अदालतको निर्णय आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर गरिएको ठहर गरेको छ। यद्यपि, अनुदारवादी धारका मानिने प्रधानन्यायाधीश जोन रोबर्ट्सले भने तीन उदारवादी न्यायाधीशहरूसँग मिलेर फैसलाप्रति कडा असहमति (डिसन्ट) जनाएका छन्।
रोबर्ट्सले अमेरिकी संसद् (कंग्रेस) को पूर्वस्वीकृतिबिना भइरहेको यो निर्माण कार्य गैरकानुनी हुन सक्ने उल्लेख गर्दै लेखेका छन्, ‘आजको फैसला शक्ति पृथकीकरणको सिद्धान्तका लागि कुनै जित होइन।’
ह्वाइट हाउसको ऐतिहासिक धरोहरमा अपूरणीय क्षति पुग्ने भन्दै सम्पदा संरक्षणसम्बन्धी संस्था ‘नेसनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसन’ ले अदालतमा मुद्दा दायर गरेको थियो।
संस्थाले अमेरिकी राष्ट्रपति ह्वाइट हाउसको अस्थायी संरक्षक मात्र भएको र कंग्रेसको अनुमतिबिना यसलाई भत्काउने वा पुनःसंरचना गर्ने एकलौटी अधिकार राष्ट्रपतिलाई नभएको तर्क गरेको थियो। तर, सर्वोच्चले उक्त संस्थासँग सरकारविरुद्ध मुद्दा दायर गर्ने कानुनी हैसियत नरहेको ठहर गरेको छ।
अदालतको फैसलापछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले आधारहीन मुद्दा असफल भएकोमा खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘हामी अमेरिकाको स्वर्णिम युगमा बाँचिरहेका छौँ, र यो भवन वासिङ्टन डीसीमा निर्माण भएका उत्कृष्ट संरचनाहरूमध्ये एक हुनेछ।’
ट्रम्पले ह्वाइट हाउसमा ठूला औपचारिक कार्यक्रमका लागि पर्याप्त ठाउँ आवश्यक रहेको र आफ्नो सुरक्षाका लागि पनि यो अनिवार्य भएको दाबी गर्दै आएका छन्। गत अप्रिलमा ह्वाइट हाउस संवाददाता संघको रात्रिभोजका क्रममा भएको भनिएको हत्या प्रयासपछि उनले यस बलरुमको आवश्यकतालाई थप जोड दिएका थिए।
राष्ट्रपति ट्रम्पले वासिङ्टनको सहरी स्वरूप रूपान्तरण गर्ने व्यापक योजनाअन्तर्गत यो बलरुम अघि सारेका हुन्। उनका आगामी योजनाहरूमा ह्वाइट हाउसको साउथ लनमा हेलिप्याड निर्माण, लिंकन मेमोरियल रिफ्लेक्टिङ पुलको जीर्णोद्धार र पेरिसको ‘आर्क दे ट्रियोम्फ’ भन्दा ठूलो ‘आर्क दे ट्रम्प’ निर्माण गर्नेसमेत समावेश छन्।
भदौ १६, २०८३ मंगलबार ११:३७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।