आफ्ना मान्छे खोज्दै अस्पताल र शवगृह धाउनेहरू
बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको शवगृह बाहिर आफन्तहरूको बाक्लो भीड छ। कसैको हातमा बेपत्ता परिवारजनको तस्बिर छ भने कसैको आँखामा प्रियजन जीवितै भेटिने मधुरो आशा।
तर, अस्पतालमा राखिएका क्षतविक्षत शव र शरीरका अंगहरू हेर्दा पनि आफ्नो मान्छे पहिचान गर्न नसकेर उनीहरू फेरि आँसु पुछ्दै निराश भएर फर्किन बाध्य छन्।
रूपन्देहीको शुद्धोधन गाउँपालिका-३ का गोविन्द पंगेनी पनि यही असह्य पीडा बोकेर अस्पताल धाइरहेका छन्। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको भीषण बाढीपछि उनका ३६ वर्षीय भाइ नीराजन पंगेनी सम्पर्कविहीन छन्।
चिलिमे हाइड्रोपावरको २२० केभी प्रसारण लाइनमा कार्यरत नीराजन बाढीसँगै बेपत्ता भएका हुन्। बाढीमा परेकाहरूको शव बुटवल ल्याइएको खबर पाएपछि गोविन्द दौडिँदै अस्पताल पुगे। शवका तस्बिरहरू हेरे, तर त्यहाँ भाइको अनुहार फेला परेन।
‘शव आएको खबर सुन्नासाथ भाइ भेटिन्छ कि भनेर अस्पताल आएको हुँ । फोटो हेर्दा पनि पहिचान गर्न सकिएन । शव प्रत्यक्ष हेर्न सक्ने अवस्था पनि छैन’, गोविन्दले गहभरि आँसु पार्दै भने।
नीराजनको खोजीमा आफन्तहरू चितवन, कावासोतीदेखि पोखरासम्मका अस्पताल पुगिसकेका छन्। तर, अहिलेसम्म उनको अवस्था अज्ञात छ। काठमाडौँमा बस्दै आएकी नीराजनकी श्रीमती चित्रा र चार वर्षीया छोरी अहिले बाटो हेरेर बसिरहेका छन्।
हातमा फोटो, मनमा आशंका
गोविन्दको जस्तै छटपटी प्युठानको गौमुखी गाउँपालिका-३ खराका खिमा बुढामगरको पनि छ। उनका २६ वर्षीय भाइ बोमबहादुर पुन रसुवाको एक हाइड्रोपावरमा मेकानिकल हेल्परका रूपमा कार्यरत थिए। भदौ १० गते बिहान घर फर्किने क्रममा रसुवाको मैलुङ पुगेपछि उनी एकाएक सम्पर्कविहीन भए।
भाइ हराएको खबर पाएपछि खिमा पनि हातमा तस्बिर बोकेर बुटवल आइपुगेकी छन्। ‘भाइले बिहान घर आउँछु भनेर फोन गरेको थियो। मैलुङ पुगेपछि सम्पर्क नै हुन सकेन’, उनले भनिन्।
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा अस्पताल पुग्नेहरूको सङ्ख्या दैनिक बढिरहेको छ। तर, अधिकांश शव यति क्षतविक्षत छन् कि अनुहारबाट पहिचान गर्न असम्भवप्रायः छ। चोटैचोट लागेका शव र ठाउँठाउँमा छुट्टिएका शरीरका अंगहरूले आफन्तको पीडालाई थप गहिरो र मर्माहत बनाइरहेको छ।
मानसरोवर यात्रामा गएका दम्पतीको अत्तोपत्तो छैन
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख डा. लालमणि आचार्य पनि आफन्तको तस्बिर बोकेर लुम्बिनी प्रादेशिक अस्पतालको शवगृह परिसरमा भेटिए। उनका भतिज डा. विमल आचार्य र बुहारी सुष्मा अर्याल आचार्य मानसरोवर तीर्थयात्राबाट फर्किने क्रममा बाढीपछि सम्पर्कविहीन भएका हुन्।
५९ वर्षीय विमल नेपाल टेलिकमका अवकाशप्राप्त सिनियर इन्जिनियर हुन् भने सुष्मा राष्ट्रिय परीक्षा बोर्डकी बहालवाला उपसचिव हुन्। काठमाडौँको चाबहिलमा बस्दै आएका उनीहरूसँग भदौ १० गते बिहान साढे ८ बजेसम्म परिवारको सम्पर्क भएको थियो । त्यसपछि उनीहरूको फोन लागेन।
‘बिहानसम्म आमासँग कुरा भएको रहेछ। त्यसपछि अहिलेसम्म कुनै खबर छैन,’ डा. आचार्यले भने, ‘अस्पतालमा राखिएका तस्बिर हेर्दा पनि उहाँहरूलाई पहिचान गर्न सकिएन।’
गोसाइँकुण्ड हिँडेको एउटै गाउँका ३० जना बेपत्ता
भोटेकोशी बाढीको अर्को कहालीलाग्दो पीडा गोरखाको पालुङटार नगरपालिका-५ नौखोर गाउँले भोगिरहेको छ। गोसाइँकुण्ड धार्मिक यात्राका लागि गाउँबाट निस्किएको ३६ जनाको टोलीमध्ये ३० जना बाढीपछि एकैसाथ सम्पर्कविहीन छन्।
गाउँबाट रिजर्भ बसमा निस्किएको उक्त टोली त्रिशूली बजार आसपास पुगेपछि बाढीको चपेटामा परेको अनुमान गरिएको छ। बसमा सवारमध्ये ६ जनाले हामफालेर ज्यान जोगाउन सफल भए पनि बाँकी ३० जनाको अवस्था अझै अज्ञात छ।
स्थानीय सुरेश क्षेत्रीका अनुसार सागर देवकोटा, राममाया देवकोटा, नानुमाया थापालगायत ३० जनाको खोजी भइरहेको छ। ‘आफन्त खोज्दै धेरै ठाउँ पुगिसक्यौँ, तर अहिलेसम्म कसैको पत्तो पाउन सकेका छैनौँ’, उनले विरक्तिएर भने।
नौखोरकै ईश्वरबहादुर थापाको परिवारमा पनि उस्तै रुवाबासी छ। उनकी श्रीमती, सासू र सालीसमेत बाढीमा बेपत्ता छन्। भदौ १० गते बिहान ९ बज्न केही मिनेट बाँकी छँदा श्रीमती नानुमायासँग उनको अन्तिम पटक कुराकानी भएको थियो। त्यसयता उनको फोनको घन्टी बज्न छाडेको छ।
भोटेकोशी बाढीपछि बगेर पश्चिम नवलपरासीको सुस्तालगायत नारायणी नदी तटीय क्षेत्रमा भेटिएका शवहरू परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले भने, ‘नदी किनारमा फेला परेका शवहरू यहाँ ल्याइएको थियो। तीमध्ये केही शव व्यवस्थापनका लागि पठाइएको छ भने केही अझै अस्पतालमै सुरक्षित राखिएका छन्।’
भदौ १६, २०८३ मंगलबार १०:००:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।