रविलाई भेटेर बागमतीका मुख्यमन्त्रीले भने– "तीन तहबीच समन्वय नै भएन, प्रधानमन्त्री आएको पनि थाहा पाएनौँ"

रविलाई भेटेर बागमतीका मुख्यमन्त्रीले भने–

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ।

रास्वापाको पार्टी कार्यालय बनस्थलीमा आज भएको भेटवार्तामा मुख्यमन्त्री थापाले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट कार्यविभाजन नहुँदा समस्या भएको बताए। प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारलाई जानकारी नै नदिइएको भन्दै उनले दुखेसो पोखे। 

मुख्यमन्त्री थापाले तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेकामा जोड दिए। उनले परिवर्तनको असर लामो भएकाले खोला किनारका बस्तीहरु स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढङ्गबाट काम गर्नुपर्ने बताए।

प्रभावित क्षेत्रमा उचित राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको मुख्यमन्त्री थापाले बताए। 

जवाफमा रास्वपा सभापति लामिछानेले यस्तो सङ्कटका बेला स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिए। सङ्घीय स्तरबाट हुने सहयोग र समन्वयमा आफूले पूर्ण साथ दिने प्रतिबद्धता लामिछानेले व्यक्त गरे। उनले यति बेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा आफूहरु सचेत रहेको समेत उल्लेख गरे। 

भदौ १४, २०८३ आइतबार १७:३७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।