बाढीप्रभावितका लागि निजी क्षेत्रको सहयोग

बाढीप्रभावितका लागि निजी क्षेत्रको सहयोग

काठमाडौं : भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि निजी क्षेत्रले निरन्तर सहयोग गरिरहेको छ। विभिन्न व्यवसायीक घराना, कम्पनी तथा संस्थाहरूले सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा खाद्यान्न र निर्माण सामग्री समेत पठाएका छन्।

सफ्टी हाइजिन : सफ्टी हाइजिनले बाढी प्रभावितहरूको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको छ। कम्पनीका सञ्चालकहरू विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकम सहयोग गर्यो। सामाजिक उत्तरदायित्व अन्तर्गत संकटको समयमा राज्य र समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

शिवम् सिमेन्ट: शिवम् सिमेन्टले बाढी प्रभावित परिवारको आवास पुनःनिर्माणका लागि ११ हजार बोरा 'ओ.पी.सी.' सिमेन्ट सहयोग गर्ने घोषणा गर्यो। ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले सिमेन्ट उपलब्ध गराउनेछ। साथै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ नगद सहयोगसमेत गर्यो। 

के एल दुगड ग्रुप : के एल दुगड ग्रुपले बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री पठाएको छ। करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्रीमा चामल, दाल, नुन, पिठो, खाने तेल, बिस्कुट, चिउरा लगायतका अत्यावश्यक खाद्य वस्तुहरू समावेश छन्। सडक सञ्जाल अवरुद्ध भएकाले नेपाली सेनामार्फत उक्त राहत सामग्रीहरू प्रभावितलाई उपलब्ध गराइने ग्रुपले जनाएको छ।

बालकल्याण विद्यामन्दिर: विराटनगरस्थित बालकल्याण विद्यामन्दिरले पनि बाढी पीडितको सहयोगार्थ आर्थिक योगदान गरेको छ। विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यालय परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ। 

भदौ १५, २०८३ सोमबार १९:५५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।