भोटेकोशी बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि आइएमई ग्रुप र त्यससँग सम्बद्ध कम्पनीहरूका तर्फबाट प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ सहयोग गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी दिएका छन्।
उनले भने, "प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरू अथवा आइएमई ग्रुप एसोसिएट भएका कम्पनीहरूको एकुमुलेट अमाउन्ट १० करोडको चेक माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरियो।"
यसका साथै विदेशमा रहेका नेपालीहरूलाई राहत कोषमा योगदान पुर्याउन सहज होस् भन्ने उद्देश्यले सेप्टेम्बर १० सम्मका लागि विदेशबाट रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ। ढकालका अनुसार आइएमई ग्रुपसहित साझेदार बैंक, वित्तीय संस्था तथा मनी ट्रान्सफर कम्पनीहरूले पनि यो अवधिमा नि:शुल्क सेवा उपलब्ध गराइरहेका छन्।
ढकालका अनुसार हालसम्म विदेशबाट करिब २० हजार कारोबारमार्फत १६ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भइसकेको छ। सेप्टेम्बर १० सम्ममा करिब ५० हजार कारोबारमार्फत ३० देखि ४० करोड रुपैयाँसम्म रकम रेमिट्यान्समार्फत निःशुल्क रूपमा कोषमा आउने अनुमान गरिएको उनले बताए।
विपद्को अवस्थामा पहिलो प्राथमिकता प्रभावितको उद्धार र घाइतेको उपचार तथा मृतकको शव व्यवस्थापन हुनुपर्ने ढकालको भनाइ छ। त्यसपछि प्रभावित क्षेत्रको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा ध्यान दिनुपर्ने उनले बताए।
प्रभावित नागरिकले प्रत्यक्ष रूपमा राहत महसुस गर्ने गरी सरकार, आम नागरिक र निजी क्षेत्र एक भएर सहयोग गर्नुपर्नेमा ढकालले जोड दिए।
भदौ १५, २०८३ सोमबार १८:५८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।