रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मान्छे फसेको नभेटिएपछि उद्धार टोली धुन्चे फर्कियो
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भिषण बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ।
सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।
भदौ १५, २०८३ सोमबार १३:३४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।