देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

काठमाडौं : अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज साँझ ६ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

जसमा मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नं. ९ राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।

वि.पि. राजमार्गमा सम्भावित बाढीका कारण बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थिति विचार गरी सवारी साधन चलाउन दिइनेछ ।

कान्तिलोकपथ अन्तर्गत हेटौंडा-ठिंगन-बागमती-ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा ५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डको उत्तरगया गा.पा. वडा नं. ५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ। यो अवरोध लामो समयसम्म रहने जनाइएको छ । 

भदौ १५, २०८३ सोमबार ११:१८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।