दिवङ्गत आफन्तको सम्झनामा भक्तपुरमा गाईजात्रा (तस्बिरहरू)

दिवङ्गत आफन्तको सम्झनामा भक्तपुरमा गाईजात्रा (तस्बिरहरू)

काठमाडौं : दिवङ्गत भएका आफन्तको सम्झनामा भाद्र कृष्ण प्रतिपदाका दिनदेखि मनाइने गाईजात्रा पर्व पहिलो दिन शनिबार भक्तपुरका विभिन्न ठाउँमा मनाइएको छ।

भक्तपुरमा परम्परा अनुसार नगर परिक्रमा गराइएको ‘भैलद्यः’ (बाँस र परालबाट निर्मित गाईको प्रतीक) को परिक्रमा समापनसँगै पहिलो दिनको जात्रा सम्पन्न भयो।

लाकुलाछेंबाट निकालिएको भैलद्यःलाई न्यातापोल मन्दिर र दरबार क्षेत्र हुँदै नगरका विभिन्न भागको परिक्रमा गराई पुनः लाकुलाछेंमै पुर्याएर जात्रा सम्पन्न गरियो।

गाईजात्राका अवसरमा नगरभरि बाजागाजाका साथ लट्ठी जुधाएर नाचिने ‘घिन्ताङघिसी’ नाच प्रस्तुत गरिएको थियो।

वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा निकालिएका ताहासाहरूसँगै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका सयौं टोली घिन्ताङघिसी नाच्दै नगर परिक्रमामा सहभागी भएका थिए। परम्परागत बाजागाजा, भेसभुसा तथा सांस्कृतिक झाँकीसहित गाईजात्रा निकालिएको थियो। 

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन सुरु हुने यो पर्व भक्तपुरमा आठ रात नौ दिनसम्म सञ्चालन हुन्छ।

पहिलो दिनको मुख्य जात्रा सम्पन्न भए पनि आइतबारदेखि बाँकी सात दिनसम्म हरेक साँझ टोल-टोलबाट व्यङ्ग्यात्मक झाँकी, प्लेकार्ड तथा घिन्ताङघिसीसहितका सांस्कृतिक नाचहरू प्रदर्शन गरिने परम्परा रहेको छ।

भदौ १३, २०८३ शनिबार २२:०७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।