भोटेकोशी बाढीपछि राहत कोषमा निजी क्षेत्रको सहयोग निरन्तर
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रले आर्थिक तथा आवश्यक सामाग्री सहयोग गरिरहेको छ।
यही क्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, पद्म ज्योति समूह र आर्या फर्माल्याबले छुट्टाछुट्टै रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र स्वास्थ्य सेवाका सामाग्री सहयोग उपलब्ध गराएका हुन्।
नेपाल लाइफ : नेपाल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्यो। बाढी प्रभावित परिवारको सहयोगार्थ नेपाल लाइफले उक्त रकम उपलब्ध गरायो। सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे।
पद्म ज्योति समूह : पद्म ज्योति समूहले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्यो। आकस्मिक विपत्तिको कठिन घडीमा मानवीय सहायता पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको समूहले जनायो।
आर्या फर्माल्याब : स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले आर्या फर्माल्याबले ८२ लाख ५१ हजार रुपैयाँ बराबरको अत्यावश्यक औषधिहरू सरकारलाई बुझायो। बाढी प्रभावित क्षेत्रका स्वास्थ्य चौकी र स्वयंसेवकहरूका लागि आवश्यक उपचार सामग्री उपलब्ध गराउँदै आर्या फर्माल्याबले थप आवश्यकता परेमा औषधि र उपकरणहरू समेत सहयोग गर्ने प्रतिबद्धता गर्यो।
भदौ १२, २०८३ शुक्रबार १९:३९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।