रसुवा बाढी प्रभावितका लागि निजी क्षेत्रको सहयोग निरन्तर , प्रधानमन्त्री कोषमा रकम हस्तान्तरण
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि थप विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र व्यापारिक संघ–संस्थाहरूले आर्थिक तथा भौतिक सहयोग घोषणा गरेका छन्।
प्राकृतिक विपद्को यस कठिन घडीमा सरकारको राहत प्रयासलाई बलियो बनाउन निजी क्षेत्रबाट महत्त्वपूर्ण सहयोग जुट्न थालेको हो। सरकारले सहयोग रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा मात्र दाखिला गर्न अनुरोध गरिरहेको छ।
विभिन्न संस्थागत सहयोगको विवरण
-एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स : एक्स्ट्रिमले विपद्मा सहयोग गर्ने घोषणा गरेको. १ करोड सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गर्यो। प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दिइएको हो।
-सानिमा बैंक: संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
-मुक्तिनाथ विकास बैंक: रसुवा, नुवाकोट, धादिङ र चितवनका बाढी प्रभावित क्षेत्रका लागि सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
-नेपाल सिमेन्ट उत्पादक संघ: सीमा क्षेत्रको हिमताल फुट्दा आएको बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ।
-आइएमई लाइफ इन्स्योरेन्स: प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। उक्त रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बुझाएको हो।
-लोमस फर्मास्युटिकल्स: प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल आवश्यक पर्ने जीवन बचाउने औषधीहरू उपलब्ध गराउनुका साथै प्रत्यक्ष रूपमा उद्धार कार्यमा समेत सहकार्य गरेको छ।
भदौ १२, २०८३ शुक्रबार १५:१३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।