भोटेकोसी बाढी पीडितका लागि कर्पोरेट क्षेत्रको ऐक्यबद्धता : विभिन्न संस्थाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ सहयोग
काठमाडौं : रसुवाको भोटेकोसी नदीमा बुधवार आएको भीषण तथा विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि विभिन्न कर्पोरेट हाउस, बैंक तथा व्यापारिक संस्थाहरूले ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठूलो आर्थिक सहयोगको घोषणा गरेका छन्।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। दुःखद परिस्थितिमा प्रभावितहरूको तत्काल उद्धार र राहतका लागि विभिन्न संस्थाले अग्रसरता देखाएका हुन्।
प्रमुख संस्थाहरूद्वारा घोषित सहयोग विवरण
-गोर्खा ब्रुअरी : गोरखा ब्रुअरीले भोटेकोशी बाढीको राहतका लागि १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटेर ब्रुअरीले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
-बीवाईडी र साइमेक्स इंक : बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
-इप्पान : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढी प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
-ग्लोबल आइएमई बैंक लिमिटेड : खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ।
एनआईसी एसिया बैंक लिमिटेड : बाढी प्रभावितहरूको उद्धार तथा राहत वितरणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र कर्मचारीबाट संकलित २१ लाख गरी कुल २ करोड २१ लाख रुपैयाँ नगद सहयोग गरेको छ।
-एनसेल फाउन्डेसन : प्रभावितहरूको उद्धार, राहत तथा पुनः स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ। साथै, बाढी प्रभावित क्षेत्रका आफ्ना ग्राहकका लागि भ्वाइस, डेटा सेवा र १०० वटा एसएमएस ३ दिनसम्म निःशुल्क उपलब्ध गराएको छ।
-आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
-म्याक्सस नेपाल : हिमालय अर्गनाइजेसनअन्तर्गत साइस म्याक्सस चाइनासँगको समन्वयमा ७० लाख रुपैयाँ सहयोग घोषणा गरेको छ। जसमध्ये ५० लाख कोषमा र २० लाख बराबरको अत्यावश्यक राहत सामग्री स्थानीय सरकारको समन्वयमा वितरण गरिनेछ। -शिवशक्ति ग्रुप र रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्री : शिवशक्ति ग्रुपको तर्फबाट ५१ लाख र रिलायन्स सुगरको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६१ लाख रुपैयाँ सहयोगको घोषणा गरिएको छ।
-वल्र्डलिंक कम्युनिकेसन : प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका ग्राहकको इन्टरनेट सेवा विच्छेद नगरिने र सेवा नवीकरणमा थप ५ दिनको निःशुल्क अवधि प्रदान गर्ने घोषणा गरेको छ।
भदौ ११, २०८३ बिहीबार २१:०६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।