हैदरावादविरुद्ध भुर्तेल र लोकेश बाहेक अन्य ब्याटर चल्न नसक्दा नेपाल ३१ रनले पराजित

हैदरावादविरुद्ध भुर्तेल र लोकेश बाहेक अन्य ब्याटर चल्न नसक्दा नेपाल ३१ रनले पराजित

काठमाडौं : अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत बिहीबार भएको खेलमा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो।

जितका लागि पछ्याएको १९८ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो। नेपालको सुरुआत निराशाजनक रह्यो। मयन यादव एक रन नबनाईकन आउट भए। त्यसपछि पनि नेपालले नियमित विकेट गुमाउँदै गयो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ४६ बल खेल्ने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै लोकेश बमले २३ बलमा ३८ रन बनाए भने राशिद खानले ११, नारायण जोशीले १२ तथा विपिन खत्रीले १० रन बनाए।

बलिङतर्फ हैदराबादका लागि स्कट कुगेलेइन र उसामा मिरले तीन तीन विकेट लिए भने अलि शेखले दुई विकेट हात पारे। त्यसअघि डर्विनस्थित गार्डेन्स ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो।

हैदराबादका लागि शेहान जयसूर्याले ४४ बलमा चार चौका र पाँच छक्कासहित ६७ रनको योगदान दिए। यस्तै हम्माद आजमले ११ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए। मिलिन्द कुमारले २५, शायान जहाँगीरले २७, तय्याब आरिफले २३ तथा अली शेखले २२ रनको योगदान दिए।

बलिङतर्फ नेपालका नारायण जोशीले दुई तथा राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले एक एक विकेट लिए। यससँगै पाँच खेल खेलको नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ। 

बुधबार भएको खेलमा नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई ४ विकेटले पराजित गरेको थियो भने सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो।

त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ‘ए’ टोलीसँग ९ विकेटले पराजित भएको थियो। 

भदौ ११, २०८३ बिहीबार २२:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।