रसुवा बाढी प्रभावितको राहतका लागि कुमारी बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कुमारी बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुमारी बैंक लिमिटेडले 'प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष'मा तीन करोड रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

सरकारले लागू गरेको 'एकद्वार प्रणाली'अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालसहित उच्च अधिकारीहरूको टोलीले उक्त रकम बराबरको चेक माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

विपद् व्यवस्थापनमा आर्थिक पारदर्शिता र प्रभावकारिता कायम राख्न सरकारले सबै सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत मात्र लिने नीति लिएको छ। सोही नीतिअनुसार अर्थमन्त्री डा. वाग्लेले कोषमा प्राप्त हुने निजी तथा संस्थागत सहयोग रकम ग्रहण गर्न सुरु गरेका हुन्।

बैंकले प्रदान गरेको यो सहयोग रकम बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण, बेपत्ताहरूको खोजी र विस्थापित नागरिकहरूको दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा उपयोग गरिनेछ।

विपद्को यस कठिन घडीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपीडित नागरिकको सहयोगका लागि अग्रसर भएको कुमारी बैंकले जनाएको छ।

भदौ ११, २०८३ बिहीबार १३:२६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।