मन्त्री पुनले भने- शव सुरक्षित राख्न प्रयोगमा नआएका वा आंशिक प्रयोग भएका कोल्ड स्टोर दिनुस्

मन्त्री पुनले भने- शव सुरक्षित राख्न प्रयोगमा नआएका वा आंशिक प्रयोग भएका कोल्ड स्टोर दिनुस्

काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवा बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको शव सुरक्षित राख्न निजी क्षेत्रसँग कोल्ड स्टोर उपलब्ध गराइदिन अपिल गरेका छन्।

शवहरूको पहिचान (सनाखत) नभएसम्म सुरक्षित राख्न कोल्ड स्टोर आवश्यक परेको भन्दै उहाँले त्यसको सम्पूर्ण भाडा र खर्च सरकारले ब्यहोर्ने प्रतिबद्धता जनाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अनुरोध गर्दै मन्त्री पुनले त्रिशूली र नारायणी नदी आसपासका जिल्लाहरूमा रहेका प्रयोगविहीन वा आंशिक रूपमा मात्र प्रयोगमा आएका कोल्ड स्टोरका सञ्चालकहरूलाई यस्तो विषम परिस्थितिमा सहयोग गर्न आग्रह गरेका छन्।

रसुवाको भोटेकोशीबाट आएको भीषण बाढीका कारण मृत्यु भएका सयौँ नागरिकको शव नदी किनारका विभिन्न ठाउँबाट संकलन भइरहेको छ।

स्थानीय अस्पतालहरूका शवगृह भरिएकाले सनाखत नहुँदासम्म शवहरूलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न कोल्ड स्टोरको खाँचो परेको हो।

मन्त्री पुनले कोल्ड स्टोर उपलब्ध गराउन इच्छुक वा सहयोग गर्न सक्ने सञ्चालकहरूलाई सीधै सम्पर्क गर्नका लागि आफ्नो व्यक्तिगत मोबाइल नम्बर ९८४१५९२३६१ समेत सार्वजनिक गरेका छन्।

भदौ ११, २०८३ बिहीबार ११:२४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।