बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टरको जथाभावी उडानमा रोक, सरकारी समन्वय अनिवार्य

बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टरको जथाभावी उडानमा रोक, सरकारी समन्वय अनिवार्य

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि खोज तथा उद्धारमा प्रयोग भइरहेका निजी हेलिकप्टरहरू सरकारी समन्वयमा मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।

उद्धारका नाममा विभिन्न कम्पनीका हेलिकप्टरहरूले आफ्नै हिसाबले उडान भर्दा आकाशमा हवाई ट्राफिक बढेर दुर्घटनाको उच्च जोखिम भएपछि सरकारले यस्तो कडाइ गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित पाँच जिल्ला- रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै व्यवस्थित ढङ्गले मात्र हेलिकप्टर परिचालन गर्न निर्देशन दिएको छ।

अबदेखि खोज तथा उद्धारका लागि हेलिकप्टर आवश्यक परेमा सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गरेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्नेछ।

कसरी हुनेछ हेलिकप्टर परिचालन ?
प्राधिकरणको निर्देशनअनुसार सेनाको हेलिकप्टर जिल्ला सुरक्षा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग सीधै समन्वय गर्नेछ भने निजी हेलिकप्टरको सन्दर्भमा सुरक्षा समितिले प्राधिकरणले तोकेका आधिकारिक सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउनेछ।

निजी हेलिकप्टरहरूको उडानलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्न प्राधिकरणले तीन जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ। जसमा हेली एभरेस्टका सचित अर्याल, अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका​​​​​​ बालकृष्ण पण्डित रहेका छन्।

बिना समन्वय जथाभावी उडान गर्दा हुनसक्ने सम्भावित हवाई दुर्घटना र अन्य प्राविधिक समस्याहरू रोक्न प्रधानमन्त्री कार्यालयको पहलमा यो कडा कदम चालिएको हो।

भदौ ११, २०८३ बिहीबार १०:५९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।