बाढीको क्षति बुझ्न प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्री लम्साल सडक मार्गबाट नुवाकोट हिँडे
काठमाडौं : बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान नुवाकोटको विदुरतर्फ गएका छन्। उनको साथमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी भए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री र मन्त्रीसहितको टोली आज बिहान ९:३० बजे टोखा-छहरे सडक मार्ग हुँदै त्यसतर्फ प्रस्थान गरेको हो।
बाढीले विभिन्न नदी तटीय क्षेत्रमा क्षति पुर्याएको भए पनि समय अभावका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा बाढीबाट अति प्रभावित नुवाकोटको विदुर र त्यस वरपरका बस्तीहरूको मात्र निरीक्षण गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधार मन्त्री लम्सालले बाढीले पुर्याएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछन्।
त्यसलगत्तै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग भेटेर राहत वितरण, प्रभावितहरूको पुनःस्थापना र अवरुद्ध पूर्वाधार सुचारु गर्ने विषयमा छलफल गर्ने कार्यक्रम छ।
सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्याउन र भत्किएका पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिन प्रधानमन्त्रीले स्थलगत रूपमै सम्बन्धित निकायलाई कडा निर्देशन दिने सचिवालयले जनाएको छ।
भदौ ११, २०८३ बिहीबार १०:३८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।