बाँध फुटेको हल्ला खण्डन गर्दै नेपालतर्फ नै भूकम्प वा भूकम्पजस्तै ठूलो हिमपहिरो गएको चिनियाँ दाबी

बाँध फुटेको हल्ला खण्डन गर्दै नेपालतर्फ नै भूकम्प वा भूकम्पजस्तै ठूलो हिमपहिरो गएको चिनियाँ दाबी

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी चिनियाँ भूभागमा बाँध फुटेर आएको भन्ने विवरणलाई चीनले ‘झुटो खबर’ भन्दै खण्डन गरेको छ।

चिनियाँ दूतावासले सामाजिक सञ्जालमा एक सन्देशमार्फत चिनियाँ पक्षले बाढीको मुख्य कारण नेपालतर्फ नै गएको भूकम्प वा हिमपहिरो भएको दाबी गरेको छ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको चीनले बाढीको पूर्वसूचना नदिँदा नेपालतर्फ ठूलो जनधनको क्षति भयो भन्ने भनाइ र चिनियाँ भूभागमा रहेको भौगर्भिक बाँध फुटेर नेपालमा क्षति पुग्यो भन्ने भनाइको खण्डन गरेको छ।

यी आरोपहरूको खण्डन गर्दै चीनले भदौ १० गते बिहान नेपालतर्फको भूभागमा भूकम्प वा भूकम्पजस्तै ठूलो हिमपहिरो गएको र सोही हिमपहिरोका कारण विशाल लेदोसहितको बाढी आएको दाबी गरेको छ।

उनले भने, ‘२६ अगस्ट २०२६ को बिहान नेपालतर्फको भूभागमा भूकम्प वा भूकम्पजस्तै ठूलो हिमपहिरो गयो। यसले विशाल लेदोसहितको बाढी/पहिरो निम्त्यायो, जसका कारण केरुङ-रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएका छन्।’

जबकी भोटेकोशी नदीको माथिल्लो भूभाग भनेको नेपाल-चीन सीमा अर्थात रसुवागढी हो। त्यहाँसम्म कुनै पनि हिमताल नै छैन।

चिनियाँ पक्षका अनुसार, यस घटनाले केरुङ-रसुवागढी सीमा क्षेत्रमा नेपालतर्फ मात्र नभई चीनतर्फ पनि ठूलो मानवीय क्षति भएको छ र मानिसहरू बेपत्ता भएका छन्।

विपद्को बेला एकअर्कालाई दोष लगाउनु भन्दा मिलेर उद्धारमा जुट्नुपर्ने सन्देश चीनले दिएको छ। सार्वजनिक तस्बिरको अन्त्यमा रातो अक्षरमा प्रस्ट लेखिएको छ- ‘आरोप लगाउनुले कुनै मद्दत गर्दैन, सहकार्यले जीवन बचाउँछ।’

भदौ ११, २०८३ बिहीबार ०९:४९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।