बाढीपहिरो प्रभावितको राहतका लागि 'एक्सट्रिम इनर्जी ड्रिंक्स'द्वारा १ करोड सहयोग

बाढीपहिरो प्रभावितको राहतका लागि 'एक्सट्रिम इनर्जी ड्रिंक्स'द्वारा १ करोड सहयोग

काठमाडौं : एक्सट्रिम इनर्जी ड्रिंक्सले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले प्रभावितहरूको पुनःस्थापनाका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम 'प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष'मा जम्मा गर्ने निर्णय गरेको हो।

मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

साथै, आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मानसमेत व्यक्त गरेको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रलाई आवश्यक परेको यस्तो सङ्कटपूर्ण परिस्थितिमा सधैँ नागरिकको साथमा उभिने र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता जनाएको छ।

भदौ ११, २०८३ बिहीबार ०८:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।