भोटेकोसी बाढी : ३ जिल्ला सङ्कटग्रस्त, अर्थतन्त्रमा २ खर्बभन्दा बढीको क्षति

भोटेकोसी बाढी : ३ जिल्ला सङ्कटग्रस्त, अर्थतन्त्रमा २ खर्बभन्दा बढीको क्षति

काठमाडौं : रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण देशले ठूलो मानवीय र भौतिक क्षति बेहोरेको छ। नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार बाढीमा परेर हालसम्म १५७ जनाको शव फेला परिसकेको छ भने सयौँ नागरिक अझै बेपत्ता छन्।

रसुवा, धादिङ र नुवाकोटसहित तीन जिल्लाका नदी किनारका बस्तीहरूमा बाढीले ठूलो तहसनहस पारेको छ। कैयौं बस्तीहरू नै बगेका कारण बेपत्ताहरूको यकिन तथ्याङ्क आउन अझै बाँकी छ।

जिल्लागत मानवीय क्षतिको विवरण

प्रहरीले उपलब्ध गराएको विवरण अनुसार विभिन्न जिल्लामा फेला परेका शवहरूको संख्या यसप्रकार छ:

-धादिङ: ६४ जना
-नवलपरासी पूर्व: २२ जना
-गोरखा: १९ जना
-नुवाकोट: १३ जना
-तनहुँ: ९ जना
-रसुवा: ३ जना

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार

बाढीका कारण घाइते भएकाहरूको उद्धार गरी राजधानीलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई हवाई उद्धार गरिएको थियो।

-त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज २० जना
-त्रिशूली अस्पताल: ९ जना
-ट्रमा सेन्टर: ४ जना
-वीर अस्पताल: ३ जना
-नर्भिक अस्पताल: ३ जना
-वीरेन्द्र सैनिक अस्पताल, छाउनी: १ जना

४०३ पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डका अनुसार बाढीका कारण ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्, जसमा ३४१ विदेशी र ६२ नेपाली छन्। सम्पर्कविहीन हुनेमा २०२ महिला र २०३ पुरुष छन्।

प्रमुख देशका बेपत्ता पर्यटक संख्या:
-भारतीय: १३३ जना
-अमेरिकी: ४७ जना
-अस्ट्रेलियाली: ३४ जना
-बेलायती: ३३ जना
-क्यानडा: २४ जना | मलेसिया: १९ जना | युक्रेन: ७ जना

अर्थतन्त्रमा २ खर्बभन्दा बढीको क्षति

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार सरकारको प्रारम्भिक अनुमानमा बाढीले अर्थतन्त्रमा २ खर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ।

विपत् जोखिम प्राधिकरणको राति साढे ११ बजेसम्मको तथ्याङ्क अनुसार ३५ वटा पक्की पुल र ४५ वटा झोलुङ्गे पुल बगेका छन्।

बेत्रावतीदेखि रसुवागढीसम्मको ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्र पूर्ण रूपमा ध्वस्त भएको छ। नजिकिँदै गरेका चाडपर्व (तिज, दसैँ, तिहार र छठ) का लागि चीनबाट आयात गरिएका अर्बौँ मूल्यका सामान, कन्टेनर र ५ देखि ७ सयसम्म महँगा विद्युतीय सवारीसाधन (ईभी) बाढीले बगाएको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार २०० भन्दा बढी मालवाहक ट्रकहरू बाढीमा परेका छन्।

विद्युत् प्रसारण लाइन पूर्ण रूपमा अवरुद्ध

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन सहित ६ वटा मुख्य प्रसारण लाइनहरूमा पूर्ण क्षति पुर्याएको छ। यसले गर्दा ठूलो क्षेत्रमा विद्युत् प्रवाह पूर्ण रूपमा अवरुद्ध बनेको छ।

३ जिल्ला सङ्कटग्रस्त घोषणा 

सरकारले बाढीबाट अति प्रभावित ३ वटा जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। आपत्कालीन सहयोगका लागि विभिन्न दातृ निकायहरूले हात बढाएका छन् भने भारतले १० टन मानवीय सहायता सामग्री पठाएको छ।

भदौ ११, २०८३ बिहीबार ००:३३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।