रसुवा बाढी : त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

रसुवा बाढी : त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन : तिब्बत क्षेत्रबाट आएको बाढीका कारण चितवनका त्रिशूली र नारायणी नदीमा बगेर आएका १८ वटा शव फेला परेका छन्। कुरिनटारदेखि नारायणगढको लीलाचोकसम्मका विभिन्न स्थानमा साँझ ६ बजेसम्म ती शवहरू फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शवहरूसँगै १२ वटा हातखुट्टासमेत भेटिएका छन्। सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ। उनले भने, “अहिलेसम्म १८ वटा शव भेटिएको छ। १२ वटा हातखुट्टाहरू भेटिएका छन्। अरु विवरण लिँदै छौँ।”

नारायणीमा जलसतह सामान्य बन्दै

बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतरा तहमा पुगेको छैन। प्रजिअ अर्यालका अनुसार यो बाढीका कारण चितवन भने जोखिममा परेको छैन। आमनागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उनले शवहरू देखिएमा खबर गर्न आग्रह गरे।

नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख ई. सुमित अधिकारीका अनुसार देवघाटस्थित नारायणी नदीमा वहाव घट्न थालेको छ। यहाँ नौ मिटर कटेपछि खतरा मानिन्छ। छ दशमलव ८० मिटर पानीको सतह पुगेर घट्न सुरु भएको उनले जानकारी दिए। अब नदीको सतह घट्न थालेकाले खतरा टरेको उनको भनाइ छ।

यातायातमा आंशिक सुधार

बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसैबाट सवारी रोकिएको छ। पोखरातर्फ जाने सवारीसाधनलाई पठाउन सुरु गरिएको छ।  तर, पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताए।

तटीय क्षेत्रमा सतर्कता

नदी आसपासका विद्यालयहरू दिउँसो नै बन्द गराएर माइकिङमार्फत स्थानीयलाई सतर्क गराइएको थियो। प्रशासनले सर्वसाधारणलाई नदीमा काठ-दाउरा वा सामान तान्न नजान र कुनै शव देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

भदौ १०, २०८३ बुधबार १८:२१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।