केन्द्रीय कारागारका सबै ८ सय कैदीबन्दी सुरक्षित, बाहिरी पर्खाल र गाडीमा क्षति

केन्द्रीय कारागारका सबै ८ सय कैदीबन्दी सुरक्षित, बाहिरी पर्खाल र गाडीमा क्षति

काठमाडौं :  त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटस्थित कारागारभित्रै लेदो पसेको र कैदीबन्दीहरू बगेको भन्दै फैलिएको हल्ला निराधार रहेको कारागार व्यवस्थापन विभागले स्पष्ट पारेको छ।

कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार कारागारमा रहेका करिब ८०० जना कैदीबन्दी पूर्ण रूपमा सुरक्षित रहेका छन्।

प्रवक्ता न्यौपानेले बाढीका कारण कारागारको बाहिरी संरचनामा केही क्षति पुगे पनि कैदीबन्दीहरू जोखिममा नरहेको जानकारी दिए।

‘बाढीले त्रिशूली नदीतर्फको कारागारको बाहिरी पर्खालमा सामान्य क्षति पुर्याएको छ र परिसरमा रहेका चार–पाँचवटा चारपाङ्ग्रे सवारी साधन बगाएको छ,’ प्रवक्ता न्यौपानेले भने, ‘तर, मुख्य कारागार भवनमा कुनै असर परेको छैन। सबै ८०० कैदीबन्दीहरू सुरक्षित छन्, भित्रको अवस्था सामान्य छ।’

उनले कैदीबन्दीलाई बाहिर निकाल्नुपर्ने अवस्था नआएको र कोही पनि बगेको वा सम्पर्कविहीन नभएको स्पष्ट पारे।

यसअघि स्थानीय प्रत्यक्षदर्शी तथा शिक्षकहरूले कारागार परिसर जलमग्न भएको, कैदीबन्दीहरू ज्यान जोगाउन भाग्न खोज्दा तनाव भएको र केही व्यक्ति बगेको हुन सक्ने प्रारम्भिक आशंका व्यक्त गरेका थिए।

सञ्चार सम्पर्क विच्छेद भएको मौकामा सामाजिक सञ्जाल र स्थानीय स्तरमा कारागारबारे विभिन्न अफवाह फैलिएपछि विभागले आधिकारिक रूपमा वास्तविकता सार्वजनिक गरेको हो।

विभागले विपद्को यस संवेदनशील घडीमा आधिकारिक निकायको सूचनाबाहेकका अपुष्ट हल्ला र भ्रममा नपर्न सबैमा आग्रह गरेको छ।

भदौ १०, २०८३ बुधबार १६:०२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।