१६ सय विद्यार्थी पढ्ने विद्यालयका प्रअ भन्छन्- १० मिनेट अगाडि सूचना आयो, घर जाने भनेका कति पुगे थाहा छैन
नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा बिहान नियमित पठनपाठन भइरहेकै बेला बाढीको पूर्वसूचना प्राप्त भएपछि धेरै बेपत्ता हुनबाट जोगिएको छ।
बाढी आउनुभन्दा १० मिनेट अगाडि मात्र सूचना पाएर विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ पठाइए पनि त्रिशूली नदीको पुल तरेर घर जान खोजेका केही विद्यार्थी भने सम्पर्कविहीन भएको आशंका गरिएको छ।
बुधबार बिहान त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगरमा परिणत भएको छ।
‘९:१५ मा सूचना आयो, ९:२५ मा बाढी आइहाल्यो’ : प्रअ दवाडी
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बिहान नियमित तालिकाअनुसार विद्यालयका कक्षाहरू सञ्चालन भइरहेका थिए। तर, बिहान ९:१५ बजे नदीमा भीषण बाढी आइरहेको खबर एकाएक प्राप्त भयो।
‘हामीलाई बिहान ९:१५ मा बाढी आउँदैछ भन्ने जानकारी आयो। त्यसलगत्तै हामीले विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ जान भन्यौँ,’ प्रअ दवाडीले उकेरासँग भने, ‘हामीले सूचना पाएको १० मिनेटमै अर्थात् ९:२५ बजे त नदीमा बाढी र लेदोको विशाल भेल आइपुग्यो।’
कोलोनी क्षेत्रका सुरक्षित, पुल तर्नेहरूबारे त्रास
प्रधानाध्यापक दवाडीका अनुसार विद्यालय परिसरबाट कोलोनी क्षेत्रतर्फ लागेका सबै विद्यार्थीहरू सुरक्षित रहेका छन्। प्रअ दवाडी स्वयं पनि अहिले ३५ देखि ४० जना विद्यार्थी तथा स्थानीयलाई साथमा लिएर कोलोनी क्षेत्रमै सुरक्षित अवस्थामा बसिरहेका छन्।
यद्यपि, त्रिशूली नदी पार गरेर बट्टार, विदुर बजार तथा ढुङ्गेतर्फ घर जान हिँडेका विद्यार्थीहरूको अवस्थाबारे भने गम्भीर आशंका उत्पन्न भएको छ।
‘कोलोनी जानेहरू सबै सुरक्षित छन्। तर, बाढी आउनुअघि नै पुल तरेर बट्टार, विदुर र ढुङ्गेतर्फ जान खोज्ने केही विद्यार्थी सम्पर्कविहीन (मिसिङ) भएका हुन् कि भन्ने ठूलो चिन्ता छ,’ प्रअ दवाडीले बताए, ‘त्यही समयमा पुलमा बाढी ठोक्किएकाले के भयो भन्ने यकिन हुन सकेको छैन।’
विद्यालयमा हाल १ हजार ६४३ जना विद्यार्थी अध्ययनरत छन्। बाढीका कारण नुवाकोटमा विद्युत् र मोबाइल नेटवर्क पूर्ण रूपमा अवरुद्ध भएकाले घरतर्फ निस्किएका सबै विद्यार्थी आ-आफ्नो घर सुरक्षित पुगे वा पुगेनन् भन्ने यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको विद्यालय प्रशासनले जनाएको छ।
भदौ १०, २०८३ बुधबार १५:३९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।