उद्धारका पर्खिरहेकालाई सरकारले भन्यो- सम्भव भए ह्वाट्सएपमा लोकेसन पठाउनू, फोन नलागे धुवाँ निकाल्नूस्
काठमाडौं : रसुवाको भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण विभिन्न स्थानमा थुनिएका तथा उद्धार पर्खिरहेका नागरिकहरूका लागि सरकारले विशेष आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी कम्पनीका गरी ११ वटा हेलिकप्टर परिचालन गरिएको र थप ६-७ वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाउँदै सरकारले उद्धार टोलीसँग सहजै सम्पर्क स्थापित गर्न नागरिकलाई निम्न विधि अपनाउन आग्रह गरेको छ।
उद्धार पर्खिरहेका नागरिकका लागि सरकारका ५ महत्त्वपूर्ण सुझाव:
बाढीमा फसेका नागरिक वा उनीहरूका आफन्तले सरकारको एकीकृत आपतकालीन नम्बर १२३४ मा सिधै फोन गरेर आफ्नो अवस्था र ठेगाना टिपाउन सक्नेछन्।
यदि मोबाइल नेटवर्क वा इन्टरनेट चलिरहेको छ भने आफ्नो मोबाइलबाट सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ)को नम्बरमा ह्वाट्सएप मार्फत आफ्नो ‘लाइभ लोकेसन’ वा ‘म्याप लोकेसन’ सेयर गर्नुहोस्।
यसले गर्दा हेलिकप्टर चालक तथा उद्धार टोलीलाई तपाईं रहेको ठ्याक्कै स्थान पहिचान गर्न सजिलो हुन्छ।
सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको स्थानमा भए उद्धारका लागि आकाशमा घुमिरहेका हेलिकप्टरलाई ध्यानाकर्षण गराउन सुरक्षित स्थानमा आगो बालेर बाक्लो धुवाँ निकाल्ने वा चम्किलो/रातो कपडा हल्लाएर संकेत गर्नुहोस्।
उद्धार उडानमा रहेका हेलिकप्टरहरूको सुरक्षालाई ध्यानमा राख्दै विपद् प्रभावित क्षेत्रको आकाशमा अनुमतिबिना निजी ड्रोन उडाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। आधिकारिक उद्धार टोलीबाहेक अन्यलाई ड्रोन नउडाउन सचेत गराइएको छ।
नदीको बहाव अझै नघटेकाले हतारिएर बाटो खोज्ने प्रयास नगर्न र हेलिकप्टर वा उद्धार टोली नपुगुन्जेल नजिकैको अग्लो र सुरक्षित डाँडामै रहन अनुरोध गरिएको छ।
उद्धारका लागि सिधै सम्पर्क गर्न सहायक सीडीओहरूको नम्बर:
कुनै पनि स्थानमा मानिसहरू थुनिएको वा उद्धार आवश्यक परेमा तत्काल तल उल्लिखित सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई फोन वा ह्वाट्सएप म्यासेज गर्न सकिनेछ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर 9851164422 रहेको छ भने नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर 9851248777 रहेको छ।
सरकारले प्रभावित क्षेत्रका नागरिकका आफन्तहरूलाई पनि यी नम्बरहरूमा सम्पर्क गरी आफ्ना आफन्तको पछिल्लो अवस्था र लोकेसन टिपाउन आग्रह गरेको छ।
भदौ १०, २०८३ बुधबार १५:०१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।