चीनतर्फ थुनिएको ताल अझै खुलेन, भोटेकोशीमा फेरि बाढीको उच्च जोखिम
काठमाडौं : चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखोलिएकाले भोटेकोशी र त्रिशूली नदी करिडोरमा भीषण बाढीको जोखिम कायमै रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार दिउँसो १:३५ बजे विशेष सतर्कता सूचना जारी गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमै रहिरहन कडा चेतावनी दिएको छ।
कुनै पनि बेला फेरि बाढी आउन सक्ने
चिनियाँ पक्षबाट प्राप्त पछिल्लो आधिकारिक जानकारीअनुसार तिब्बत क्षेत्रमा पहिरोले नदी थुनिएको स्थानमा जमेको ताल अझै पूरै निकास भएको छैन।
तालमा अझै पनि ठूलो परिमाणमा पानी र लेदो थुनिएर बसेकाले कुनै पनि क्षण फेरि ठूलो बाढी उर्लिन सक्ने जोखिम देखिएको हो।
प्राधिकरणले अर्को आधिकारिक सूचना जारी नभएसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदी किनार वा जोखिमयुक्त बस्तीमा नफर्किन र सुरक्षित तथा अग्लो स्थानमै बस्न कडा निर्देशन दिएको छ।
प्रशासनले उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरूलाई समेत नदीको बहाव र जोखिमको अवस्था हेरेर मात्र कार्यक्षेत्रमा खटिन सचेत गराएको छ।
भदौ १०, २०८३ बुधबार १४:०१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।