रसुवागढी भन्सारका प्रमुखसहित २६ कर्मचारी सम्पर्कमा, १४ जना अझै सम्पर्कविहीन

रसुवागढी भन्सारका प्रमुखसहित २६ कर्मचारी सम्पर्कमा, १४ जना अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन्।

अर्थ मन्त्रालयका अनुसार बाढीपछि सम्पर्कविहीन भएका कुल ४० जना कर्मचारीमध्ये हालसम्म २६ जना सुरक्षित सम्पर्कमा आएका हुन् भने १४ जना कर्मचारीको अवस्था अझै अज्ञात छ।

स्थायी कर्मचारी: कुल ३६ जनाको दरबन्दी रहेकोमा प्रमुख प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना सम्पर्कमा आएका छन्। ११ जना स्थायी कर्मचारी अझै सम्पर्कविहीन छन्।

करार तथा ज्यालादारी कर्मचारी: ४ जना कार्यरत रहेकोमा १ जना सम्पर्कमा आएका छन् भने ३ जनाको अवस्था खुल्न सकेको छैन।

सम्पर्कमा नआएका ११ जना स्थायी र ३ जना करार/ज्यालादारी गरी कुल १४ जना कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

बाढीले टिमुरेस्थित भन्सार कार्यालय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याउनुका साथै टेलिफोन नेटवर्क र सडक सञ्जाल अवरुद्ध भएकाले उद्धार तथा विस्तृत विवरण संकलनमा कठिनाइ भइरहेको छ।

हराइरहेका कर्मचारीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

भदौ १०, २०८३ बुधबार १३:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।