दिउँसो साढे ३ बजे देवघाट आइपुग्नेछ बाढी : चितवन र नवलपरासीमा डुबानको सम्भावना कम, सतर्क रहन आग्रह
काठमाडौं : रसुवा र नुवाकोट हुँदै अघि बढेको त्रिशूली नदीको बाढी आज दिउँसो करिब ३:३० बजे चितवनको देवघाट आइपुग्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटमा पानीको सतह उल्लेख्य बढे पनि चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबान हुने सम्भावना भने न्यून रहेको छ।
महाशाखाका अनुसार चितवन-देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ।
माथिल्लो भेगको बाढी आइपुग्दा पानीको सतह करिब ३ मिटरले वृद्धि भई ८ मिटरसम्म पुग्न सक्ने प्रारम्भिक आकलन गरिएको छ।
यो बाढी २ देखि ३ वर्षको पुनरावृत्ति अवधिको मात्र हुने अनुमान गरिएकाले चितवन र नवलपरासीका तल्लो तटीय बस्तीहरूमा भीषण डुबानको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ।
बस्तीहरूमा ठूलो डुबान नहुने भए पनि नदीको बहाव र सतह तीव्र गतिमा बढ्ने भएकाले नदी आसपासका नागरिकलाई ढुक्क भएर नबस्न आग्रह गरिएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म नदी किनार, घाट तथा छेउछाउका बस्ती र बजारका बासिन्दालाई सुरक्षित तथा अग्लो स्थानमै रहन अनुरोध गरेको छ।
भदौ १०, २०८३ बुधबार १३:२६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।