बाढी प्रभावित क्षेत्रमा टेलिकम र एनसेलको निःशुल्क सेवा, उद्धार हेलिकप्टरका लागि हवाई इन्धन ट्याङ्कर पठाइयो
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सञ्चार सम्पर्कमा सहजता पुर्याउन नेपाल टेलिकम र एनसेलले निःशुल्क सेवा उपलब्ध गराएका छन्।
यस्तै, उद्धार कार्यमा खटिएका हेलिकप्टरहरूलाई इन्धन अभाव हुन नदिन नेपाल आयल निगमले काठमाडौँबाट नुवाकोटको त्रिशूलीतर्फ हवाई इन्धन बोकेको ट्याङ्कर पठाएको छ।
टेलिकम र एनसेलद्वारा निःशुल्क भ्वाइस, एसएमएस र डेटा
विपद्को घडीमा आफन्तसँग सम्पर्क स्थापित गर्न र उद्धार कार्यमा सहयोग पुर्याउन दुवै दूरसञ्चार सेवा प्रदायकले राहत प्याकेज घोषणा गरेका छन्।
नेपाल टेलिकमले बाढी प्रभावित पाँच जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बासिन्दाका लागि दुई दिनसम्म प्रतिव्यक्ति प्रतिदिन ५० वटा एसएमएस र २ जिबी डेटा निःशुल्क उपलब्ध गराइएको छ।
यस्तै एनसेलले प्रभावित क्षेत्रका प्रयोगकर्ताहरूका लागि तीन दिनसम्म लागू हुने गरी निःशुल्क भ्वाइस कल, एसएमएस र डेटा सेवा उपलब्ध गराएको जनाएको छ।
हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धन ट्याङ्कर
बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत सामग्री ढुवानीमा खटिएका नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरहरूलाई तत्काल रिफ्युलिङ व्यवस्था मिलाइएको छ।
उद्धार उडानहरूलाई निरन्तर र प्रभावकारी बनाउन नेपाल आयल निगमले काठमाडौंबाट तत्काल हवाई इन्धनसहितको ट्याङ्कर नुवाकोटको त्रिशूलीतर्फ परिचालन गरेको हो।
यसले गर्दा हेलिकप्टरहरू इन्धन भर्न पुनः काठमाडौं फर्किनुपर्ने बाध्यता हट्ने र उद्धार कार्यले थप गति लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भदौ १०, २०८३ बुधबार १३:०४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।