रसुवा बाढीले ४३१ मेगावाट बिजुली प्रणालीबाट बाहिर, ११ जलविद्युत् र एक सोलार प्लान्ट बन्द [सूचीसहित]
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र एक सोलार प्लान्ट गरी कुल ४३१.१ मेगावाट विद्युत् उत्पादन ठप्प भई राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ।
नेपाल विद्युत प्राधिकरणले एक जरुरी सूचना जारी गर्दै बाढीका कारण रसुवा र नुवाकोट करिडोरका प्रमुख जलविद्युत् आयोजना, महत्त्वपूर्ण सबस्टेसन तथा प्रसारण लाइनहरूमा गम्भीर क्षति पुगेको जनाएको छ।
प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रत्यक्ष प्रभावित भई उत्पादन बन्द हुनेहरूमा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सालासङ्गी, १४.८ मेगावाट माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन रहेका छन्।
यसका अलावा २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको त्रिशूली ३ ‘ए’, १४.८ मेगावाटको माथिल्लो मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको प्राधिकरणको सोलार प्लान्ट राष्ट्रिय प्रणालीबाट पूर्ण विच्छेद भएका छन्।
२२० केभी सबस्टेसन र प्रसारण लाइनमा क्षति
आयोजनाहरूसँगै त्रिशूली ३ ‘बी’ हब २२० के.भी. सबस्टेसन र स्थानीय वितरण संरचनाहरूमा समेत बाढीले ठूलो क्षति पुर्याएको छ। एकैपटक ४३० मेगावाटभन्दा बढी विद्युत् प्रणालीबाट बाहिरिएपछि रसुवा, नुवाकोटसहित देशका विभिन्न भागमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको जनाउँदै अवस्था सामान्य नहुन्जेलसम्म धैर्य गरिदिन उपभोक्तालाई अनुरोध गरेको छ।
प्राकृतिक प्रकोपका कारण आयोजना स्थलहरूमा खटिएका प्राधिकरणका कर्मचारी, प्राविधिक तथा सुरक्षाकर्मीहरूसमेत बेपत्ता भएको प्राधिकरणले पुष्टि गरेको छ। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र विपद् व्यवस्थापन टोलीलाई तीव्र रूपमा परिचालन गर्न अपिल गरिएको छ।
नदीमा बाढीको जोखिम कायमै रहेकाले नदी किनारका बस्ती र संरचनामा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट हल्ला वा अफवाहको पछि नलाग्नसमेत प्राधिकरणले अनुरोध गरेको छ।
भदौ १०, २०८३ बुधबार १२:५५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।