धुन्चेका वडाध्यक्ष भन्छन्- 'टिमुरे र स्याफ्रुबेंशीका कसैसँग पनि सम्पर्क हुन सकेको छैन'

धुन्चेका वडाध्यक्ष भन्छन्- 'टिमुरे र स्याफ्रुबेंशीका कसैसँग पनि सम्पर्क हुन सकेको छैन'

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति भएको छ। आज बिहान लेदोसहितको भीषण बाढीले दुवै क्षेत्रका बासिन्दा पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्।

गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६, धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार बाढी प्रभावित टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका स्थानीयवासीहरूसँग हालसम्म कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन। सञ्चार सेवा अवरुद्ध भएकाले त्यहाँको वास्तविक क्षति र स्थितिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए। 

“विहान रसुवागढिबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेंशी पूरै बगाएको हो की जस्तो देखिन्छ,” वडाध्यक्ष वाइबाले भने, “त्यहाँका स्थानिय कसैसँग पनि सम्पर्क हुन नसकेकाले के-के भयो थाहा पाउन सकिएको छैन।”

सम्पर्कविहीन बनेको सो क्षेत्रमा हाल हेलिकोप्टर प्रयोग गरी खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

भदौ १०, २०८३ बुधबार १२:४७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।