लेदोसहितको त्रिशूलीले सेकेन्डभरमै बगायो पक्की पुल (तस्बिरहरू)

लेदोसहितको त्रिशूलीले सेकेन्डभरमै बगायो पक्की पुल (तस्बिरहरू)

नुवाकोट : चीनको तिब्बतबाट भोटेकोशी हुँदै उर्लिएको लेदोसहितको अकल्पनीय बाढीले नुवाकोटको त्रिशूली बजार जोड्ने मुख्य पक्की पुल क्षणभरमै भत्काएर बगाएको छ।

अग्लो स्थानबाट प्रत्यक्षदर्शीले खिचेको भिडियोमा बाढीको विशाल छालले स्टिल ट्रस पुललाई सेकेन्डभरमै ढालेको भयानक दृश्य कैद भएको छ।

सामान्य गतिमा बगिरहेको नदीमा अचानक माथिल्लो भेगबाट लेदो र गेग्रानसहितको विशाल छाल आउँछ। अग्लो पर्खालजस्तै बनेर आएको बाढी त्रिशूली बजार जोड्ने मुख्य पक्की पुलतर्फ तीव्र वेगमा सोझिन्छ।

बाढीको विशाल छाल सिधै पुलको पिल्लर र स्टिल संरचनामा बज्रिन्छ। पानी र धुलोको ठूलो मुस्लो छुट्छ। हेर्दाहेर्दै हजारौँ टन भार थेग्न सक्ने मजबुत पक्की पुल बाढीको अगाडि तिनका जस्तै भाँचिएर नदीमा विलीन हुन्छ।

पुललाई बगाएपछि बाढी सिधै त्रिशूली बजारका नदी किनारमा रहेका घरहरूमा पस्छ। केही मिनेटभित्रै सिङ्गो नदी किनार खरबारी र बाक्लो लेदोको दलदलमा परिणत हुन्छ। घरका तल्ला तलाहरू लेदोले भरिन्छन्।

आफ्नै आँखाअगाडि बजार र पुल बगेपछि स्थानीय बासिन्दा, गुम्बाका भिक्षु तथा सर्वसाधारण अग्लो डाँडामा पुगेर चिच्याउँदै रोइरहेका छन्। नदीको गर्जन र बस्ती ध्वस्त भएको दृश्यले वरपर भागाभाग मच्चिएको छ।

पुल बगेसँगै त्रिशूली नदी वारपार गर्ने मुख्य सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ। बजार क्षेत्रमा विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको छ।

​​​​​​​

नदीको बहाव अझै नघटेकाले स्थानीय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन र डाँडातिरै रहन आग्रह गरेको छ।

भदौ १०, २०८३ बुधबार १२:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।