नुवाकोटका स्थानीय भन्छन्- त्रिशूली नदी यसरी बौलाएको अहिलेसम्म देखेका थिएनौँ, बजार र बस्ती पूरिएर केही देखिँदैन
नुवाकोट : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तल्लो तटीय क्षेत्र नुवाकोट प्रवेश गरेपछि बेत्रावती, त्रिशूली र विदुर क्षेत्रमा ठूलो क्षति पुगेको छ।
बाढीसँगै आएको अकल्पनीय लेदो र गेग्रानका कारण त्रिशूली जलविद्युत् आयोजनाको बाँध र पावरहाउस पुरिएका छन् भने तटीय बजार तथा बस्तीहरू जलमग्न भएका छन्।
त्रिशूली बजार र बसपार्क पुरियो, कारागारमा भागाभाग : शिक्षक रामप्रसाद रिजाल
स्थानीय ४५ वर्षीय शिक्षक रामप्रसाद रिजालका अनुसार पौने ९ बजेसम्म नदीको बहाव सामान्य रहे पनि अनौठो गन्ध आइरहेको थियो। त्यसको केही बेरमै अकल्पनीय रूपमा बाढी र लेदोको भेल उर्लिएर बस्तीहरूमा पसेको थियो।
उनका अनुसार अहिलेसम्म आफूले त्रिशूली नदी यसरी उर्लिएको देखेका थिएनन्।
उनले भने, ‘यो त अचम्मै भयो, त्रिशूली नदी यसरी बौलाएको अहिलेसम्म देखेका थिइनँ मैले। बढे पनि त्रिशूली बजारको तल्लो तहसम्म आउँथ्यो यसरी त अहिलेसम्म आएको थिइनँ।’
‘त्रिशूली बसपार्क र बजारको कुरै छोडौँ, बजारका घरहरू सिरानसम्मै लेदोले छोपिएका छन्,’ शिक्षक रिजालले थपे, ‘नुवाकोट केन्द्रीय कारागारभित्रै बाढी पसेपछि कैदीबन्दीहरूमा भागाभाग भएको छ। सुरक्षाकर्मीहरूले उनीहरूलाई नियन्त्रणमा राख्न र सुरक्षित स्थानमा सार्न खोज्दा स्थिति निकै तनावग्रस्त बनेको थियो।’
उनका अनुसार बाढीले ढुङ्गेस्थित बागबानीसम्म लेदो थुपारेको छ भने बट्टारको सिंचाइमा रहेको जेडी बोर्डिङ स्कुलको आधा भाग लेदोले पुरिएको छ।
‘त्रिशूलीका पक्की र झोलुङ्गे पुलहरूको रूपरङ नै देखिँदैन, पुरै पुरिएका वा बगेका छन्। सदरमुकाम विदुरबाट जिल्ला अस्पताल जाने पुल बगाएकाले सम्पर्क पूर्ण रूपमा टुटेको छ’, उनले बताए।
सामरी खोला ‘ब्याक’ हुँदा बगुवा बजार डुबानमा : पत्रकार गीता न्यौपाने
स्थानीय पत्रकार गीता न्यौपानेका अनुसार त्रिशूली नदीको पानी अत्यधिक बढेर सामरी खोलातर्फ ‘ब्याक’ भएपछि बगुवा बजार क्षेत्र डुबानमा परेको छ।
‘विदुरस्थित त्रिशूली जलविद्युत् आयोजनाको पावरहाउस पूर्ण रूपमा लेदोले पुरिएको छ,’ पत्रकार न्यौपानेले भनिन्, ‘नेपाली सेनाको ब्यारेक नजिकै रहेका सोलार प्यानलहरू, सिँचाइको पुल र भैँसे क्षेत्रका संरचनाहरू बाढीमा डुबेका छन्।’
ड्याम र पावरहाउस लेदोले भरियो : शिक्षक बैकुण्ठराज रिजाल
रामचन्द्र आधारभूत विद्यालयका शिक्षक बैकुण्ठराज रिजालले बेत्रावती क्षेत्रमा बाढीले निम्त्याएको संकटबारे जानकारी दिए।
‘त्रिशूली जलविद्युत् आयोजनाको हेडगेटको डिलसम्मै बाक्लो लेदो भरिएको छ, पर्यटकीय क्षेत्र सिलट्याङ्की मुनिका पोखरीहरू र बस्ती सबै पुरिएका छन्,’ शिक्षक रिजालले भने, ‘भेलले अक्करेको पुल, चण्डेश्वरी स्कुल र तल्लो भेगका बस्तीहरूलाई नराम्ररी प्रभावित पारेको छ।’
बाढीका कारण सडक सञ्जाल र पुलहरू अवरुद्ध भएपछि नुवाकोटको आन्तरिक तथा अन्तरजिल्ला यातायात पूर्ण रूपमा ठप्प भएको छ।
बिजुली र टेलिफोन नेटवर्कमा गम्भीर समस्या आएकाले स्थानीय बासिन्दाहरू प्रभावित भएका छन्। बाढीको सतह अझै नघटेकाले प्रशासनले नदी आसपासका सबै बस्ती खाली गर्न निरन्तर अपिल गरिरहेको छ।
भदौ १०, २०८३ बुधबार ११:४३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।