प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

काठमाडौं : रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा आज बिहान आएको भीषण बाढीले ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्’को आकस्मिक बैठक बोलाएका छन्।

बाढीपछिको समग्र अवस्थाको समीक्षा, उद्धार तथा राहत कार्यको प्रभावकारिता र आगामी रणनीति तय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे परिषद्को बैठक बस्न लागेको हो।

घटनापछि उद्धार र राहत कार्यका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। यस्तै, थप उद्धारका लागि निजी कम्पनीका हेलिकप्टरहरूलाई समेत तयारी अवस्था (स्ट्यान्डबाइ) मा राखिएको छ।

स्थलगत रूपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासनको टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्लास्थित संयन्त्रहरूसँग समन्वय गरी काम अघि बढाएको छ।

राजमार्गमा यात्रा नगर्न आग्रह, नदी तटीय क्षेत्र खाली गराइँदै
बाढीका कारण नदीको बहाव अस्वाभाविक रूपमा बढेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा (स्याफ्रुबेँसी) सडक खण्ड र मुग्लिन-नारायणगढ सडक खण्डमा यात्रा नगर्न नागरिकलाई आग्रह गरेको छ।

यसैबीच, भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिइएको छ। बाढीको जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निरन्तर पूर्वसूचना (एसएमएस तथा फोन कल) प्रवाह भइरहेको छ।

यता, परिषद्को बैठकअघि अहिले गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक जारी छ।

भदौ १०, २०८३ बुधबार १०:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।