रसुवा बाढी : सेना-प्रहरीसहित हेलिकप्टर ‘स्ट्यान्डबाइ’, तटीय क्षेत्र तत्काल खाली गराउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उद्धार, राहत तथा सम्भावित जोखिम न्यूनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्र युद्धस्तरमा परिचालन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय खटाइएको र तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिइसकिएको बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रतिकार्यका लागि सरकारले खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई प्रभावित क्षेत्रमा खटाइएको छ। उद्धारलाई थप प्रभावकारी बनाउन अन्य छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त सुरक्षाकर्मी र जनशक्ति रसुवातर्फ पठाइसकिएको छ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पूर्ण रूपमा सक्रिय बनाइएको छ तथा नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र स्वास्थ्यकर्मीहरूको टोलीसँग समन्वय गरी प्रभावित क्षेत्रमा अतिरिक्त एम्बुलेन्स र चिकित्सकसहितको मेडिकल टोली पठाउने प्रक्रिया अघि बढाइएको छ।
मौसम अनुकूल हुनासाथ जटिल स्थानहरूमा तत्काल उद्धार तथा राहत सामग्री पुर्याउन सरकारी तथा निजी कम्पनीका सबै हेलिकप्टरहरूलाई तयारी अवस्था (स्ट्यान्डबाइ) मा रहन निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।
भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिमबाट जोगाउन एसएमएस र फोनमार्फत पूर्वसूचना पठाइएको तथा नदी किनारका जोखिमयुक्त बस्तीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई भनिएको उनले बताए।
प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न र विपद्को घडीमा धैर्य रहन अपिल गरेका छन्। बाढी प्रभावित क्षेत्रका आफन्तहरूसँग सम्पर्क नभएमा आत्तिनुको साटो आधिकारिक निकायको ‘रेस्क्यु अपडेट’ कुर्न उनले आग्रह गरेका छन्।
बाढी, राहत तथा उद्धारसम्बन्धी जानकारी र सहयोगका लागि सरकारले ‘१२३४’ नम्बरको आपतकालीन हटलाइनसमेत सञ्चालनमा ल्याएको छ।
यसैबीच, बाढीपछिको अवस्थाको समीक्षा गरी आगामी रणनीति तय गर्न सरकारले केही बेरमै उच्चस्तरीय आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीले जानकारी दिए।
भदौ १०, २०८३ बुधबार १०:४२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।