चीनतर्फबाट भोटेकोशीमा भीषण बाढी, रसुवाको टिमुरे र स्याफ्रुबेसीसहित नुवाकोटमा ठूलो क्षति

चीनतर्फबाट भोटेकोशीमा भीषण बाढी, रसुवाको टिमुरे र स्याफ्रुबेसीसहित नुवाकोटमा ठूलो क्षति

काठमाडौं : चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि भीषण बाढी आएको छ। बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका-२ स्थित टिमुरे र वडा नम्बर ५ को स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति पुगेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजेको समयमा चिनियाँ भूभागबाट अकल्पनीय रूपमा ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो। बाढीले पुर्याएको क्षतिको यकिन विवरण संकलन गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा बाढीले निकै ठूलो क्षति गरेको जानकारी दिए।

भन्सार कर्मचारीसँग सम्पर्क विच्छेद
बाढीका कारण टिमुरेस्थित रसुवा भन्सार कार्यालय क्षेत्र बढी प्रभावित भएको छ। भन्सार विभागका महानिर्देशक खेमलाल भुसालका अनुसार बिहान ८ बजे नै बाढीबारे जानकारी आएको थियो।

टेलिफोन नेटवर्क अवरुद्ध भएकाले त्यहाँ कार्यरत धेरैजसो कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको महानिर्देशक भुसालले बताए। उनका अनुसार हाल ६-७ जना कर्मचारी मात्र सम्पर्कमा आएका छन् भने बाँकीको अवस्था बुझ्ने प्रयास भइरहेको छ।

पाँच जिल्लाका नदी तटीय क्षेत्रमा ‘रेड अलर्ट’
भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली हुँदै नारायणीतर्फ बहने भएकाले स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन प्रशासनले सूचना जारी गरेको छ।

छिमेकी जिल्लाहरूका सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिलाई समेत सम्भावित जोखिमका लागि तयारी अवस्थामा राखिएको छ।

भदौ १०, २०८३ बुधबार १०:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।