‘विद्यालयले कपाल काट्न भन्यो’ भन्दै हेलो सरकारमा उजुरी, शिक्षक र अभिभावक हैरान
चितवन : कक्षा ९ मा पढ्ने छोराले लामो कपाल पालेपछि चितवन कृष्णपुरका विनोद ढकाललाई विद्यालयबाट पटक-पटक फोन आयो, ‘बाबुलाई कपाल काटेर छोटो बनाउन लगाउनुस्।’
तर, बाबुले कपाल काट्न पटक्कै मानेनन्। ढकाल भन्छन्, ‘छोरालाई सम्झाएँ, तर जबरजस्ती गर्न पनि भएन।’
भरतपुर-१० का बुद्धिकान्त न्यौपानेको पीडा पनि उस्तै छ। कक्षा १२ मा पढ्ने जेठो छोरालाई कपाल काट्न भन्दाभन्दा दिक्क भएपछि उनले भन्नै छाडिदिए। अहिले कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि दाजुकै सिको गर्दै कपाल पाल्न थालेको छ।
पछिल्लो समय विद्यालय र कलेज तहका विद्यार्थीहरूमा लामो कपाल पाल्ने ट्रेन्ड तीव्र बन्दै गएको छ। यतिसम्म कि, कपाल काट्न दबाब दिने शिक्षक र अभिभावकविरुद्ध विद्यार्थीहरू सिधै सरकारी गुनासो सुन्ने संयन्त्र ‘हेलो सरकार’ र प्रहरीसम्म पुग्न थालेका छन्।
देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध ‘हेलो सरकार’मा उजुरी
विद्यार्थीहरूले विद्यालयविरुद्ध ‘जबर्जस्ती कपाल काट्न लगाएको’ भन्दै उजुरी दिन थालेपछि शिक्षक र विद्यालय प्रशासन अलमलमा परेका छन्।
प्याब्सन चितवनका अध्यक्ष मदन पुरीका अनुसार देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध कपाल काट्न दबाब दिएको भन्दै हेलो सरकारमा उजुरी परेको छ।
‘कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा लामो कपाल पाल्ने मोह बढी छ,’ उनी भन्छन्, ‘अहिले त हामीले कपाल काट्न भन्नै छाडिसक्यौँ। केही भन्यो कि उजुरी परिहाल्छ।’
भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सुवास आचार्य पनि विद्यालयले दबाब दिएको भन्दै विद्यार्थीहरूले हेलो सरकारमा उजुरी दिने गरेको पुष्टि गर्नुहुन्छ।
उनका अनुसार विशेषगरी होस्टेलमा बस्ने, हजुरबुबा-आमासँग बस्ने र अभिभावक टाढा भएका विद्यार्थीहरूमा यो प्रवृत्ति धेरै देखिएको छ।
जबर्जस्ती कपाल काट्न कानुनमै रोक
सरकारले संशोधन गरेको ‘शिक्षा नियमावली (१०औँ संशोधन)’ ले विद्यार्थीको इच्छाविपरीत कपाल काट्न वा काट्न लगाउन नपाइने व्यवस्था गरेको छ।
नियमावलीको नियम २५ मा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्ने गतिविधि कक्षाकोठा वा विद्यालय परिसरमा गर्न नपाइने उल्लेख छ।
साथै, शारीरिक स्वरूप, पहिरन वा साजसज्जाका आधारमा विद्यार्थीलाई होच्याउन, लाञ्छित गर्न वा चरित्रमाथि प्रश्न उठाउन कानुनी रूपमै प्रतिबन्ध लगाइएको छ। यही कानुनी व्यवस्थालाई देखाउँदै विद्यार्थीहरू उजुरीमा उत्रिएका हुन्।
किन बढ्दैछ लामो कपालको मोह?
वीरेन्द्र बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेका अनुसार सामाजिक सञ्जाल, इन्टरनेट, सिनेमा र विदेशी फेसनको सहज पहुँचका कारण किशोरावस्थामा ‘सेलिब्रेटी कल्चर’ को नक्कल गर्ने झुकाव बढेको हो।
‘पहिले क्याम्पस पुगेपछि मात्र विद्यार्थीहरू बाहिरी फेसनप्रति आकर्षित हुन्थे, अहिले सानै उमेरमा हातहातमा मोबाइल भएकाले उनीहरूले सेलिब्रेटीलाई पछ्याइरहेका छन्,’ डा. घिमिरे भन्छन्, ‘यसलाई किशोरावस्थामा आफ्नो पहिचान खोज्ने र आज्ञाकारिताविरुद्धको साङ्केतिक विद्रोहका रूपमा पनि बुझ्न सकिन्छ।’
कपाल पाल्नु व्यक्तिगत स्वतन्त्रता भए पनि यसले दैनिक जीवन र स्वास्थ्यमा भने चुनौती थप्ने विज्ञहरूको भनाइ छ।
लामो कपालको दैनिक स्याहारसुधारमा समय र खर्च बढी लाग्ने हुँदा विद्यार्थीको ध्यान पढाइबाट भड्किन सक्ने जोखिम रहन्छ। साथै, नियमित सरसफाइ गर्न नसके गर्मी मौसममा पसिना र फोहोर जम्ने, चाया र जुम्रा पर्ने जस्ता स्वास्थ्य समस्या निम्तिने चिकित्सकहरूको चेतावनी छ।
भदौ १०, २०८३ बुधबार ०८:५४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।