ओखलढुङ्गामा विद्युत् सर्ट भई आगलागी : दुई घर जलेर नष्ट, २६ लाखको क्षति

ओखलढुङ्गामा विद्युत् सर्ट भई आगलागी : दुई घर जलेर नष्ट, २६ लाखको क्षति

ओखलढुङ्गा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४, चार्खुमा मङ्गलबार साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट करिब २६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय कोटमाया कार्कीको खरको छाना भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी सुरु भएको थियो। उक्त आगो फैलिएर उहाँकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको तीन घण्टा लामो प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहका अनुसार आगलागीबाट: कोटमाया कार्कीको घर, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, एक तोला सुन र २० हजार रुपैयाँ नगदसहित करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

ज्ञानकुमारी कार्कीको घर, अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुन र ५० हजार रुपैयाँ नगदसहित करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

भदौ १०, २०८३ बुधबार ०७:५०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।