‘छापामार शैली’पछि पहिलो पटक विधिसम्मत तरिकाले सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन

‘छापामार शैली’पछि पहिलो पटक विधिसम्मत तरिकाले सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन

काठमाडौं : गत चैत १३ गते सिंहदरबारको बागडोर सम्हालेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पदभार ग्रहण गरेको १५२ दिनपछि आज पहिलो पटक संसदीय नियमावलीको औपचारिक प्रक्रिया पूरा गरी सांसदहरूका प्रश्नको प्रत्यक्ष सामना गर्दैछन्।

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा ६ दलका ११ जना सांसदले प्रधानमन्त्रीलाई राष्ट्रियता, सीमा विवाद तथा सरकारको कार्यशैलीका विषयमा प्रत्यक्ष प्रश्न सोध्ने कार्यसूची छ।

पाँच महिनाको कार्यकालमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभा नियमावलीअनुसार औपचारिक रूपमा प्रश्नोत्तरमा भाग लिन लागेको यो नै पहिलो पटक हो।

यसअघि गत जेठ १७ गते उनी पूर्वघोषित कार्यसूची र कार्यविधि विपरीत ‘छापामार शैली’ मा संसद् प्रवेश गरी सांसदहरूलाई प्रश्न सोध्न चुनौती दिएका थिए।

सोही क्रममा उनले दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने विवादास्पद अभिव्यक्तिका कारण सदन र सडकमा चर्को राजनीतिक तरंग पैदा भएको थियो।

उक्त घटनापछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीलगायतका दलहरूले लामो समय प्रतिनिधि सभा बैठक अवरोध गरेका थिए।

त्यअघिदेखि नै प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका उनीहरूले यसपछिका बैठकहरूमा पनि प्रधानमन्त्रीले विधिसम्मत तरिकाले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने अडान राख्दै आएका थिए।

प्रतिपक्षी दलहरूको निरन्तरको दबाबपछि सभामुख डोलप्रसाद अर्यालले भदौ १ गते प्रधानमन्त्रीलाई नियमावली अनुसार सांसदहरूले सोधेको प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।

अन्ततः प्रधानमन्त्री शाह नियमावलीको दायरामा रहेर सांसदहरूसामु प्रस्तुत हुन तयार भएका हुन्।

सीमा र राष्ट्रियता मुख्य एजेन्डा, प्रश्नहरू गोप्य
संसद् सचिवालयका अनुसार प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त र प्रभावकारी बनाउन सांसदहरूले दर्ता गराएका प्रश्नको विस्तृत विवरण भने बैठक अगाडि सार्वजनिक गरिएको छैन।

यद्यपि, सचिवालय स्रोतका अनुसार जेठ १७ को विवादित अभिव्यक्ति, कालापानी–लिपुलेक लगायतका सीमा विवाद, राष्ट्रियताको सन्दर्भ तथा सरकारको कामकारबाहीको शैलीलाई लिएर सांसदहरूले तीखा प्रश्नहरू तयार पारेका छन्।

सभामुख अर्यालले भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न दिएको समयसीमाभित्र ६ दलका ११ जना सांसदको नामावली दर्ता भएको छ। जसमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र डा. अमरेशकुमार सिंहले प्रश्न सोध्नेछन्।

यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङ, एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछिन्।

मेडिकल रिपोर्ट बुझाएर कालो चस्मामै रोस्ट्रममा
संसद्को रोस्ट्रममा उभिएर सांसदहरूका प्रश्नको सामना गर्दा प्रधानमन्त्री बालेन शाह कालो चस्मामै देखिनेछन्। सभामुख डोलप्रसाद अर्यालले संसद्भित्र कालो चस्मा प्रयोग गर्न स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य गरेपछि प्रधानमन्त्रीले आफ्नो मेडिकल रिपोर्ट संसद् सचिवालयमा बुझाइसकेका छन्।

गत साउन २२ गते सैनिक अस्पताल छाउनीमा आँखारोग विशेषज्ञ लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीमा ‘ड्राई आई डिजिज’ र चर्को प्रकाशमा हेर्न कठिनाइ हुने समस्या देखिएको थियो। सोही चिकित्सकीय सल्लाहअनुसार प्रधानमन्त्री सचिवालयमा रिपोर्ट दर्ता गराएर कालो चस्मा लगाएरै बैठकमा उपस्थित हुन लागेका हुन्।

के छ नियमावलीको व्यवस्था?
प्रतिनिधिसभा नियमावलीको परिच्छेद-९ को नियम ५६ मा महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि तोक्ने व्यवस्था छ।

नियम ५७ अनुसार यस कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने नियम ६० अनुसार प्रधानमन्त्रीले दिएको जवाफका सम्बन्धमा संसद्मा कुनै थप छलफल वा प्रतिवाद गर्न पाइने छैन।

प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएलगत्तै प्रधानमन्त्री शाहले ‘मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन (आव २०८१/८२)’ संसद्मा पेस गर्नेछन्।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बहुप्रतीक्षित ‘नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजै विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने संसद् सचिवालयले जनाएको छ।

भदौ १०, २०८३ बुधबार ०७:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।