नेपाल विज्ञापन संघद्वारा ‘रेडबुल १३ औँ कृति अवार्ड्स’ घोषणा

नेपाल विज्ञापन संघद्वारा ‘रेडबुल १३ औँ कृति अवार्ड्स’ घोषणा

काठमाडौं : नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन क्षेत्रको सम्मान ‘कृति अवार्ड्स’ को १३ औँ संस्करण आयोजना गर्ने घोषणा गरेको छ। यस वर्षको संस्करणलाई ‘रेडबुल १३ औँ कृति अवार्ड्स २०८३’ नामकरण गरिएको छ।

संघले यस पटक अवार्डमा २४ वटा नयाँ विधा थप गरेको छ। योसँगै कुल ५५ वटा विधामा प्रतिस्पर्धा हुने जानकारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। नयाँ थपिएका विधाहरूमा विशेषगरी डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड क्षेत्रका अभियानहरूलाई समेटिएको छ। 

टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट र सामाजिक सञ्जालका विज्ञापनहरूबीच विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। अवार्डका लागि २०८० वैशाख १ गतेदेखि २०८३ आषाढ मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरूले सहभागी हुन पाउनेछन्।

विज्ञापन एजेन्सी तथा ब्रान्डहरूका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको संघले जनाएको छ। प्रतिस्पर्धाको मूल्याङ्कनका लागि काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय के.सी.को अध्यक्षतामा जुरी गठन गरिएको छ। जुरीमा सञ्चारकर्मी भारती सिलवाल गिरी र मार्केटिङ विज्ञ रवीन्द्रमान श्रेष्ठ लगायतका विज्ञहरू सहभागी छन्। 

भदौ ९, २०८३ मंगलबार २१:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।