विदेश पठाउने भनेर रकम असुली सम्पर्कविहीन बनेका पाँच जना पक्राउ
काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भनेर रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी मंगलबार आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको हो।
पक्राउ पर्नेहरूमा झापा घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने २८ वर्षीया करिना देवकोटा र झापा घर भई काठमाडौं महानगरपालिका-३ बस्ने २७ वर्षीय साजन खनाल रहेका छन्।
त्यस्तै दोलखा घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ३४ वर्षीय पेमा लामा तथा ओखलढुङ्गा घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ परेका मध्ये सुष्माले चेक रिपब्लिक पठाइदिने भनेर पाँच लाख ३५ हजार, करिनाले लिथुआनिया पठाइदिने भनेर दुई लाख ५० हजार, साजनले फिनल्याण्ड पठाइदिने भनेर १२ लाख, पेमाले रोमानिया पठाइदिने भनेर एक लाख र तोमकुमारीले माल्टा पठाइदिने भनेर एक लाख ३५ हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीले सुष्मालाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१०, करिना र साजनलाई काठमाडौं महानगरपालिका-३ तथा पेमालाई काठमाडौं महानगरपालिका-१२ र तोमकुमारीलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरिएको जनाएको छ।
भदौ ९, २०८३ मंगलबार १९:३३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।