कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा-खड्काको निवेदन सर्वोच्चमा दर्ता
काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन रोक्न माग गर्दै दिएको निवेदन मंगलबार सर्वोच्च अदालतमा दर्ता गरिएको छ।
आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै देउवा र खड्काले निवेदन दायर गरेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार कांग्रेसको देउवा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता गरिएको छ। सो निवेदन उपर यही भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ।
कांग्रेसको निर्वाचन समितिले १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। उक्त निर्णय रोक्न रिट निवेदन पेश गरिएको हो।
कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न निस्सा (अनुमति) दिइएको छ। सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको छ।
भदौ ९, २०८३ मंगलबार १७:४१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।