भृकुटीमण्डपमा सुरु भयो 'नाडा अटो शो', ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा

भृकुटीमण्डपमा सुरु भयो 'नाडा अटो शो', ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा

काठमाडौं : नाडा अटो शोको १८औँ संस्करण मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजित ‘स्वर्ण जयन्ती विशेष नाडा अटो शो २०२६’ को औपचारिक उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका छन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालको अटोमोबाइल क्षेत्र दीर्घकालीन लगानी, रोजगारी सिर्जना र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण स्तम्भ भएको बताए। उनले भने, ‘नाडा अटो शो एउटा व्यापारी मोला वा प्रर्दशनिमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता, आर्थिक रूपान्तरणको निमित्त सशक्त मार्गचित्र बन्नसक्छ।’ 

उनले उद्योगको विकास, लगानीको सुरक्षा र उपभोक्ता हितबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रबीचको निरन्तर संवादमार्फत पारदर्शी तथा स्थिर नीतिको आवश्यकता औंल्याए। विश्वव्यापी रूपमा अटोमोबाइल क्षेत्र विद्युतीय सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढेको उल्लेख गर्दै उनले नेपाली व्यवसायीलाई यस परिवर्तनलाई अवसरका रूपमा लिन र नेपाललाई यस क्षेत्रको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले वर्तमान चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण व्यवसायीको मनोबल कमजोर बनेको बताए। ‘ मेरो यो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीहरुको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइन," उनले भने।

श्रेष्ठले अर्थतन्त्रको संरचनागत सुधार, स्वदेशी उद्योग प्रवर्द्धन र १० वर्षभित्र जनसांख्यिक लाभ (युवा जनशक्ति) गुम्नुअघि नै देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।  

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रले वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गर्दै १० लाखभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको जानकारी दिए। उनले सवारीसाधनलाई ‘विलासी वस्तु’का रूपमा मात्र हेर्ने दृष्टिकोण बदल्न आग्रह गर्दै स्थिर कर नीतिको माग गरे।

‘सवारी साधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा मात्र हेरिने दृष्टिकोणमा पुनरावलोकन गरिनुपर्छ। आज यो क्षेत्र १० लाखभन्दा बढीको रोजगारी र वार्षिक ९० अर्बभन्दा बढी राजस्वको स्रोत मात्र होइन, आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य कडी पनि हो,’ उनले भने। 

स्थान अभावका कारण ठूला सवारी तथा हेभी इक्विपमेन्ट प्रदर्शन गर्न कठिन भएको भन्दै उप्रेतीले बजेटमा परेको भृकुटीमण्डप प्रदर्शनी स्थलको स्तरोन्नति योजना तुरुन्त कार्यान्वयन गरी अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउन सरकारको ध्यानाकर्षण गराए।  

भदौ १४ गतेसम्म सञ्चालन हुने यस १८औं नाडा अटो शोमा २०० भन्दा बढी स्टलहरू रहेका छन्। ​​​​दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ। 

यसपटकको अटो शोमा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। प्रदर्शनीमा विदेशी ब्रान्डका सवारी साधनहरूसँगै नेपालमै निर्मित तथा एसेम्बल गरिएका गाडी, सवारी सामग्री र मुख्य आकर्षणका रूपमा नेपालमै निर्मित विद्युतीय स्कुटर ‘यात्री पी–२’ प्रदर्शनमा राखिएको छ।

नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीस्थलमा ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियनको स्थापना गरिएको छ। उक्त प्याभिलियनमार्फत देशभित्रै उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल प्रदर्शन गरिनेछ। 

भदौ ९, २०८३ मंगलबार १३:३७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।