तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा अर्का १४ वर्षीय किशोरसहित थप सात जना पक्राउ

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा अर्का १४ वर्षीय किशोरसहित थप सात जना पक्राउ

बारा : बाराको जितपुर सिमरा उपमहानगरपालिका-१, भक्तिनगरस्थित खाली घरमा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन ३१ गते हराएकी बालिकाको शव दुई दिनपछि घर नजिकैको खाली घरमा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा एक म्याजिक गाडीका सह-चालक १६ वर्षीय एक किशोरले बालिकालाई चकलेटको लोभ देखाएर फकाई लगेको र जबरजस्ती करणी पछि हत्या गरेको खुलेको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले मुख्य आरोपी नाबालिगसहित नौ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ पर्नेमा सहचालक १६ वर्षीय किशोरसहित जितपुर सिमरा-१ बस्ने म्याजिकका चालक २४ वर्षीय प्रोग्रेस चौधरी, सोही ठाउँका ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी रहेका छन्।

यसका अलावा ४५ वर्षीय शेख हसमुदिन आलम, ४० वर्षीय टेक बहादुर थापामगर, जितपुर सिमरा वडा नम्बर २ का ३३ वर्षीय नबिन विक र १४ वर्षीय किशोर रहेका छन्।

पक्राउ परेका सबै आरोपीहरूमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट दोस्रो पटक म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ ९, २०८३ मंगलबार १३:१५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।