राष्ट्रिय सभाको शून्य समयमा बारा घटना, रिक्त दूतावास र स्वास्थ्य क्षेत्रको दुरावस्थाप्रति सांसदहरूको आक्रोश

राष्ट्रिय सभाको शून्य समयमा बारा घटना, रिक्त दूतावास र स्वास्थ्य क्षेत्रको दुरावस्थाप्रति सांसदहरूको आक्रोश

काठमाडौं : सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले शान्ति-सुरक्षाको बिग्रँदो अवस्था, महिला तथा बालबालिकामाथि भइरहेका जघन्य अपराध, विदेशस्थित रिक्त दूतावास, स्वास्थ्य सेवाको चरम अभाव र जनसरोकारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बैठकमा बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्याको विभत्स घटनालाई लिएर सांसदहरूले तीव्र आक्रोश व्यक्त गरे। सांसद सोमनाथ पोर्तेलले घटनापछि गृह मन्त्रालय र प्रहरीको शैलीमाथि कडा आपत्ति जनाए।

उनले पीडित परिवारलाई खुसी भएको भन्न लगाउने र अभियुक्तलाई छाती फुलाएर बोल्न दिने भिडियो सार्वजनिक हुनु अमानवीय भएको टिप्पणी गर्दै भने, ‘एकातिर गृहमन्त्री सिंहदरबारमा भिडियो छायाङ्कन गर्छन्, अर्कातिर प्रहरीको निर्देशनमा भिडियो बन्छ। सरकारले नागरिकको पीडालाई तमासामा नबदलोस्।’

यस्तै सांसदहरू गीता देवकोटा, रोशनी मेचे, सञ्जना देवकोटा र धर्मेन्द्र पासवानले यस्ता जघन्य अपराध नियन्त्रण गर्न फास्ट ट्रयाक अदालत गठन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न माग गरे।

सांसद मीना सिंह रखालले चालू आर्थिक वर्षको ६ महिनामै घरेलु हिंसाबाट ७ हजार ४०१ महिला पीडित भएको र एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका उजुरी परेको तथ्याङ्क प्रस्तुत गर्दै कानुनको प्रभावकारी कार्यान्वयनको माग गरे।

२१ वटा नेपाली दूतावास राजदूतविहीन भएकोमा प्रश्न
सांसद जगत तिमिल्सिनाले नेपालको परराष्ट्र नीति र कूटनीतिक प्रतिनिधित्वप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाए।

उनले भने, ‘विश्वका ३१ वटा नेपाली राजदूतावासमध्ये २१ वटामा राजदूत छैनन्। लामो समयदेखि कार्यवाहकको भरमा नियोग चलाउनु कूटनीतिक अक्षमता हो।’

उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हित र आर्थिक कूटनीतिलाई सरकारले बेवास्ता गरेको बताए।

यस्तै, सांसद रोशनी मेचेले वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा ज्यान गुमाएका झापाका रमेश मेचेको पार्थिव शरीर २० दिन बित्दा पनि स्वदेश ल्याउन नसकिएको भन्दै कूटनीतिक पहल तत्काल थाल्न सरकारसँग माग गरे।

स्वास्थ्य सेवाको दुरावस्था र अस्पतालहरूको लापरबाही
सांसदहरूले विभिन्न जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य सेवाको चरम लापरबाहीबारे पनि सदनमा कुरा उठाए।

सांसद खम्मबहादुर खातीले बाजुराको मार्तडी अस्पतालमा हालसम्म एमडीजीपी (MDGP) विशेषज्ञ डाक्टर नहुँदा गरिब जनता उपचारबाट वञ्चित हुनुपरेको भन्दै तत्काल चिकित्सक खटाउन माग गरे।

सांसद धर्मेन्द्र पासवानले रौतहटमा सर्पदंशको भ्याक्सिन नपाएर एक जनाको मृत्यु भएको जानकारी दिँदै लालबकैया नदीको बाँध फुट्ने जोखिमले परोहा नगरपालिकाका १ हजार घरधुरी विस्थापित हुन लागेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद रेखा कुमारी झाले प्रादेशिक अस्पताल जनकपुरमा दक्ष डाक्टरको लापरबाही र निजी क्लिनिक मोहका कारण गर्भवती महिलाहरूको ज्यान गइरहेको भन्दै छानबिनको माग गरे।

सांसद रणजित कर्णले स्वास्थ्यमन्त्रीको अनुगमनका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा बेड अभाव देखाउन नाटक गरिएको र मन्त्री फर्केपछि बिरामीलाई फेरि भुइँमै राखिएको खुलासा गर्दै संलग्न कर्मचारीलाई कारबाहीको माग गरे।

साथै उनले राजविराजका ५२ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने सहमति कार्यान्वयन नभएकोप्रति आपत्ति जनाए।

भदौ ९, २०८३ मंगलबार ११:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।