भदौमा प्रधानमन्त्रीको प्रश्नोत्तरसहित १२ दिन प्रतिनिधि सभा बैठक बस्ने
काठमाडौं : सङ्घीय संसद् सचिवालयले भदौ महिनाका लागि प्रतिनिधि सभाको सम्भावित पाक्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
प्रतिनिधि सभा नियमावलीको नियम २५४ बमोजिम सार्वजनिक गरिएको कार्यतालिका अनुसार भदौ महिनामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर, महत्त्वपूर्ण सम्झौता तथा विभिन्न विधेयकमाथिको छलफलसहित १२ दिन बैठक बस्ने तय भएको छ।
सार्वजनिक कार्यतालिका अनुसार भदौको पहिलो र दोस्रो साता (भदौ १, २, ३, ८, ९ र १० गते) तथा तेस्रो र चौथो साता (भदौ १५, १६, १७, २२, २३ र २४ गते लगायत) बैठकहरू सञ्चालन हुनेछन्।
भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर र विद्युत् व्यापार सम्झौता पेस हुने
कार्यतालिका अनुसार भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय गरिएको छ।
सोही दिन ‘नेपाल-भारत बीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ सभामा पेस गरिने कार्यसूची रहेको छ। साथै, वार्षिक प्रतिवेदन तथा जरूरी सार्वजनिक महत्त्व/सङ्कल्प/ध्यानाकर्षण प्रस्तावहरू समेत सोही दिन पेस हुनेछन्।
संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ भदौ ९ गते सभामा पेस गरिनेछ।
यस सम्झौतामाथि भदौ १६ गते सामान्य छलफल हुने र भदौ २४ गतेको बैठकमा छलफल गरी अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरिने कार्यतालिकामा उल्लेख छ।
यी हुन् अघि बढ्ने मुख्य विधेयकहरू:
भदौ महिनाभर विभिन्न महत्वपूर्ण विधेयकहरू दफावार छलफल र समितिका लागि अघि बढाइने कार्यसूची छ:
८ भदौ: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक र राहदानी (पहिलो संशोधन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव।
९ भदौ: नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक प्रस्तुत, मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव तथा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक समितिमा पठाउने प्रस्ताव।
१५ र १७ भदौ: कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक र बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव।
२३ भदौ: मेलमिलाप, कर्मचारी सञ्चय कोष र बालबालिका सम्बन्धी विधेयकहरूलाई दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची।
शून्य, विशेष र मन्त्रालयगत प्रश्नोत्तर
बैठक बस्ने प्रायः सबै दिन शून्य समय र विशेष समयको व्यवस्था गरिएको छ। भदौ ८ र १६ गते मन्त्रालयगत प्रश्नोत्तर तथा भदौ ९ गते शून्य, विशेष र आकस्मिक समयमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिएको छ।
सभाको बैठक नबस्ने कार्यदिनहरू संसदीय समितिका बैठकहरूका लागि छुट्याइएको छ। यद्यपि, कार्यतालिकामा समावेश नभएका कुनै आकस्मिक र अत्यावश्यक विषयहरू कार्यव्यवस्था परामर्श समितिको समन्वयमा कार्यसूचीमा समावेश वा हेरफेर गर्न सकिने व्यवस्थासमेत गरिएको छ।
भदौ ९, २०८३ मंगलबार ०९:५९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।