पोखरा बसपार्कका ३२५ परिवार ‘भूमिहीन’, बस्ती स्थानान्तरण अर्को सातादेखि

पोखरा बसपार्कका ३२५ परिवार ‘भूमिहीन’, बस्ती स्थानान्तरण अर्को सातादेखि

कास्की : पोखरा महानगरपालिका-९, पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन र अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ।

वडास्तरीय सहजीकरण समितिले दाबी-विरोध र आवश्यक छानबिनपछि ३२५ परिवारलाई ‘भूमिहीन’ र २४२ परिवारलाई ‘अव्यवस्थित बसोबासी’ का रूपमा पहिचान गरेको हो।

महानगर प्रमुख धनराज आचार्यका अनुसार अन्तिम विवरणमा १४४ भूमिहीन दलित र १८१ भूमिहीन सुकुमबासी गरी कुल ३२५ परिवार भूमिहीन कायम भएका छन्।

यसअघि प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन परेका थिए। वडाले गरेको छानबिन र परीक्षणपछि सूची संशोधन गरिएको हो।

वडा समितिले यो प्रतिवेदन पारित गरी पोखरा महानगरपालिकामा पठाइसकेको छ। महानगर कार्यपालिकाले यसै साता यसबारे निर्णय गरी थप प्रक्रियाका लागि जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ।

नगरप्रमुख आचार्यले कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यले निष्पक्ष छानबिन गरिएको बताए।

उनले भने, ‘प्रक्रिया समयमै पूरा भएमा अर्को सातादेखि नै बसपार्क क्षेत्रको बस्ती स्थानान्तरण सुरु हुनेछ। सबै सरोकारवाला निकायसँग समन्वय गरेर मात्र व्यवस्थित रूपमा स्थानान्तरण गरिनेछ।’

यता, बसपार्क क्षेत्रका बासिन्दाले विकासमा बाधक नबन्ने भन्दै निष्पक्ष व्यवस्थापनको माग गरेका छन्।

भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले भन्नुभयो, ‘हामी बसपार्क निर्माणमा महानगरलाई सहयोग गर्न तयार छौँ। तर, बसपार्क खाली गराउनुअघि हाम्रो उचित वैकल्पिक व्यवस्थापन हुनुपर्छ।’

पोखरामा सुविधासम्पन्न बसपार्क बनाउन वि.सं. २०३२ मै जग्गा अधिग्रहण गरिएको थियो। तर, पाँच दशक बितिसक्दा पनि जग्गा अतिक्रमणका कारण बसपार्क बन्न सकेको छैन। जसले गर्दा पृथ्वीचोक क्षेत्रको सडकपेटीबाटै लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गरेका छन्।

महानगरले यसअघि त्यहाँका व्यावसायिक सटरहरू हटाइसकेको छ। अब जग्गा पूर्ण रूपमा खाली गराएर दातृ निकायको सहयोगमा आधुनिक बसपार्क निर्माण गर्ने महानगरको योजना छ।

भदौ ९, २०८३ मंगलबार ०८:५५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।