ह्याकरबाट जोगिन पुरानो प्रविधिको सहारा, साइबर अपराधीलाई चक्मा दिँदै पुराना फोन र कागजी प्रणाली
एजेन्सी : आजको डिजिटल युगमा नयाँ सफ्टवेयर र अत्याधुनिक डिभाइसलाई सबैभन्दा बढी सुरक्षित मानिन्छ। तर, पछिल्लो समय यसको ठीक उल्टो अभ्यास देखिन थालेको छ।
विश्वका कतिपय चर्चित साइबर सुरक्षा विज्ञ, सेना, ठूला बैंक र सरकारी निकायहरू नै ह्याकरबाट बच्न वर्षौं आउटडेटेड प्रविधि, पुराना फोन र कागजी प्रणालीको सहारा लिइरहेका छन्।
सुरक्षाको भाषामा यसलाई ‘सेक्युरिटी बाइ एन्टिक्विटी’ भनिन्छ।
ह्याकरहरूले किन गर्दैनन् पुरानो प्रविधिमा आक्रमण?
फिनल्यान्डका विश्वप्रसिद्ध साइबर सुरक्षा विज्ञ मिक्को हिप्पोनेनले वर्षौंसम्म बन्द भइसकेको ‘युडोरा’ नामक पुरानो इमेल सफ्टवेयर प्रयोग गरे। उनले जिमेल वा हटमेलजस्ता नयाँ इमेल चलाएनन्।
यसको कारण खुलाउँदै उनी भन्छन्, ‘अधिकांश साइबर अपराधीहरू पैसा कमाउनका लागि नयाँ र धेरै मानिसले प्रयोग गर्ने प्रविधिमा आक्रमण गर्छन्। थोरै मान्छेले मात्र चलाउने पुराना सफ्टवेयर ह्याक गर्न उनीहरूले समय खेर फाल्दैनन्।’
यही कारणले गर्दा आधुनिक स्मार्टफोन ह्याक हुने डरले कतिपय साइबर विज्ञहरू आज पनि २५ वर्ष पुरानो नोकियाजस्ता साधारण (डम्ब) फोन बोक्न रुचाउँछन्।
युद्ध मैदानमा कागजी नक्सा र कम्पासको प्रयोग
युक्रेन युद्धमा आधुनिक स्याटेलाइट र जीपीएस प्रणालीलाई रुसले सहजै ‘जाम’ गरिदिएपछि युक्रेनी सेना फेरि पुराना कागजी नक्सा र कम्पासको प्रयोगमा फर्किएको छ।
रक्षा विशेषज्ञहरूका अनुसार कागजी नक्सालाई कुनै पनि साइबर आक्रमण वा डिजिटल तरङ्गले रोक्न सक्दैन। यस्तै, आधुनिक जीपीएस प्रणाली फेल हुन सक्ने जोखिम देखेर आयरल्यान्डको हवाई उड्डयन प्राधिकरणले पनि पुराना जमिन-आधारित रेडियो प्रणालीहरू नै चालु राख्ने निर्णय गरेको छ।
चुनावमा मेसिनभन्दा कागजी मतपत्रमै विश्वास
प्रविधिको विकाससँगै विद्युतीय भोटिङ मेसिनबाट छिटो नतिजा आउने भए तापनि संसारका धेरैजसो लोकतान्त्रिक देशहरू अझै पनि कागजी मतपत्रमै भर पर्छन्।
चुनावमा डिजिटल प्रणाली प्रयोग गर्दा ह्याकिङको जोखिम हुने भएकाले लोकतन्त्रको सुरक्षाका लागि कागजी प्रणाली नै उत्तम मानिएको विज्ञहरूको भनाइ छ।
१९५० को दशकको ‘म्याग्नेटिक टेप’को पुनरागमन
कम्प्युटरलाई भाइरस पठाएर लक गरिदिने र खुलाउन फिरौती माग्ने ‘र्यान्समवेयर’ साइबर आक्रमण विश्वभर तीव्र गतिमा फैलिएको छ।
यसबाट आफ्ना गोप्य डाटा जोगाउन विश्वका ठूला कम्पनीहरूले फेरि १९५० को दशकको रिल टेपमा डाटा सुरक्षित राख्न थालेका छन्।
यस प्रकारको टेपलाई इन्टरनेट र कम्प्युटरबाट पूर्ण रूपमा अफलाइन गरेर जमिनमुनिका सुरक्षित बङ्करमा राख्न सकिन्छ, जसलाई कुनै पनि अनलाइन ह्याकरले छुनै सक्दैन।
भदौ ९, २०८३ मंगलबार ०७:५१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।