पक्राउ किशोरको बयान भिडियो हटाउन लगाउँदै काउन्सिल र साइबर ब्युरो, ३८ वटा हटाइयो
काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीले चुहाएको नाबालिग बलात्कार र हत्याका आरोपी किशोरको भिडियो बयान ३८ वटामा प्रकाशित भएको खुलेको छ। प्रेस काउन्सिल नेपालका अनुसार सो भिडियो २४ वटा मिडियाहरूमा र १४ वटा गैर मिडियामा राखिएका थिए।
बलात्कार पीडितको परिवारसहित कसैको पनि पहिचान सार्वजनिक गर्न नहुने र पक्राउ परेकाको उमेर १८ वर्ष मुनीको भए उनको पनि पहिचान गोप्य राख्नु पर्नेमा प्रहरीले नै पत्रकार सम्मेलन गरेर पक्राउ किशोर सार्वजनिक गरेको थियो।
आइतबार बेलुकाबाट विभिन्न मिडिया र गैर मिडियाका सामाजिक सञ्जालका पेजहरूमा पक्राउ परेका किशोरको भिडियो सार्वजनिक भएको थियो। काउन्सिलले सार्वजनिक गरेको विवरण अनुसार अनुगमनको क्रममा मिडियाका रूपमा दर्ता भएका २४ वटा र गैर मिडियाका पेजमा १४ वटामा सो भिडियो राखिएको खुलेपछि उनीहरूलाई सो भिडियो हटाउन निर्देशन दिएको थियो।
काउन्सिलका अनुसार २१ वटालाई फोन मार्फत निर्देशन दिइएको थियो। सञ्जालहरूमा पक्राउ परेका किशोरको बयान मात्र हैन जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक भएको किशोरको भिडियो समेत सार्वजनिक भएका छन्।
बालमैत्री सञ्चार निर्देशिका र पत्रकार आचारसंहिताले यौन हिंसामा परेका बालबालिकाको पहिचान खुलाउन पाइन्न। अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका वा दोषी प्रमाणित भएका १८ वर्ष मुनीका बालबालिकाको पहिचान समेत सार्वजनिक गर्न पाइन्न।
नेपाल प्रहरीको साइबर ब्युरो पनि विभिन्न सञ्जालहरूमा राखिएको भिडियो हटाउन सक्रिय भएको थियो। ब्युरोले त्यस्ता भिडियो राखेको भए हटाउन सूचना निकालेको थियो।
गैर कानुनी काममा प्रहरी नै
प्रहरीले नै गैर कानुनी रूपमा पत्रकार सम्मेलनमा बालकलाई थुनुवाको हाफज्याकेट लगाउन लगाएर पत्रकारमाझ सार्वजनिक गरेको थियो। आइतबार बेलुकाबाट त किशोरको भिडियो बयानै सार्वजनिक भयो जसमा दुई जना प्रहरीले मोबाइलबाट भिडियो खिचिरहेको समेत देखिन्छ।
कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनका सदस्यबाटै गैर कानुनी काम भएको सार्वजनिक भएसँगै तीव्र आलोचना सुरु भएपछि बारा प्रहरीले भिडियो खिचेको आरोपमा एक प्रहरीलाई पक्राउ गरेर चार प्रहरीलाई अनुसन्धानको दायरामा ल्याएको दाबी गरेको छ।
नाबालिगको पहिचान सार्वजनिक गर्न नहुने कानुनी प्रावधान विपरीत पत्रकार सम्मेलनमा किशोरलाई सार्वजनिक गरेका बाराका एसपी नरेन्द्र कुँवरमाथि भने प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले हालसम्म कुनै प्रक्रिया अगाडि बढाएको खुलेको छैन।
उकेरासँगको कुराकानीमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यसबारे बुझ्ने काम भइरहेको दाबी गरेका थिए। गृहमन्त्री सुधन गुरुङ अनि कानुन मन्त्री सोविता गौतमले छलफलका लागि बोलाएको बालिकाको आमा र बाबुको भिडियो तथा तस्बिर सार्वजनिक गरेको भन्दै संसदमा उनीहरूको समेत आलोचना भयो।
आमा-बाबु गृहमा छलफलमा बस्दा मन्त्रीहरूकै समूहबाट पलपलको तस्बिर र भिडियो सार्वजनिक भएको थियो। गृहमा छलफल चल्दा कुनै मिडियालाई पहुँच थिएन। तर फोटो र भिडियो सार्वजनिक हुनेक्रम रोकिएन।
छलफलमा बसेकोदेखि बालिकाको आमा बाबुले खाजा र खाना खाएकोसम्मका तस्बिर र भिडियोहरू सार्वजनिक भएका थिए। सहमतिमा बालिकाको आमा र बाबुको पूर्ण परिचय उल्लेख गरिएको थियो भने सहमतिपछि सबै मन्त्रीहरू बालिकाको आमा र बुबासँग सामूहिक तस्बिर खिचेर सार्वजनिक गरिएको थियो।
मन्त्रीहरूको यस्तो गतिविधिको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद विपिन आचार्यले नै आलोचना गरे। उनले सोमबारको संसद् बैठकमा भने “हामीले कस्तो समाज बनाइरहेका छौँ, जहाँ मृतकको बाबुआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ। अनि कहीँ मेडिकल गर्दै गर्दा एउटा आरोपितले बोलेको कुराहरूलाई सार्वजनिक गरिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।”
पक्राउ परेका किशोरको भिडियो सार्वजनिक भएकोमा अन्य सांसदहरूले समेत संसदमा आलोचना गरेका थिए। नेपालमा सक्रिय कानुन अनुसार गोपनीयता कायम गर्नुको अर्थ मृतक वा पीडित वा आरोपीको नाम र तस्बिर लुकाउनु मात्रै हैन, त्यसमा परिवारका सदस्यहरूको परिचय, फोटो, भिडियो अनि ठेगानासम्म लुकाउनु हो। पीडित परिवारको कुनै सदस्यको नाम खुलाउनु पनि यो कानुनको उलंघन हो। तर कानुन उलङ्घनमा मन्त्रीदेखि प्रहरीसम्म संलग्न देखिए।
भदौ ८, २०८३ सोमबार २१:११:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।