बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार

बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा सोमबार अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्यो।

मुख्यमन्त्रीविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर भएका दुई छुट्टाछुट्टै रिटमा न्यायाधीश वविता उप्रेतीको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्यो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्री नियुक्तिविरुद्ध छुट्टाछुट्टै रूपमा दायर गरेको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश गरेको हेटौँडा इजलासका उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेले जानकारी दिए।

रिटमा प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेशलगायत विभिन्न निकाय र व्यक्तिलाई विपक्षी बनाइएको छ। निवेदकले माग गरे बमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने सम्बन्धमा आधार, प्रमाण र कारण खुलाएर १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई अदालतले भनेको उपरजिष्ट्रार लामिछानेले जानकारी दिए। यसबारे अदालतले छलफलका लागि यही भदौ १० गते दुवै पक्षलाई बोलाएको छ।

भदौ ८, २०८३ सोमबार १९:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।