भारतीय शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पारेको सीजेपी फेरि सडकमा उत्रिँदै

भारतीय शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पारेको सीजेपी फेरि सडकमा उत्रिँदै

एजेन्सी : नीट प्रश्नपत्र बाहिरिएको प्रकरणमा तत्कालीन भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको कक्रोच जनता पार्टी (सीजेपी) पुनः नयाँ दिल्लीमा विरोध प्रदर्शनमा उत्रिने भएको छ। 

सरकारले प्रदर्शनकारी विद्यार्थीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिने प्रतिबद्धता पूरा नगरेको भन्दै त्यसको विरोधमा सडक आन्दोलनमा उत्रिने सीजेपीले घोषणा गर्यो। सेप्टेम्बर ५ मा इन्डिया गेटदेखि दिल्ली प्रहरी मुख्यालयसम्म शान्तिपूर्ण ‘युवा मार्च’ निकाल्ने तय भएको सीजेपीले जनायो।

उक्त मार्चको नेतृत्व नीट पीडित विद्यार्थी र प्रहरी दमनमा परेका व्यक्तिहरूका परिवारले गर्ने छन्। गत जुलाई २५ मा धर्मेन्द्र प्रधानले शिक्षामन्त्री पदबाट राजीनामा दिएसँगै केन्द्र सरकारले प्रदर्शनकारीहरू विरुद्ध दर्ता गरिएका एफआईआर फिर्ता लिने लगायतका मागहरूमा सहमति जनाएको थियो। तर, सरकारले उक्त वाचा पूरा नगरेको र विद्यार्थीहरूलाई झुटा मुद्दामा अल्झाइराखेको सीजेपीको आरोप छ।

सरकारले जानाजानी ढिलासुस्ती गरेको निष्कर्ष निकाल्दै सीजेपीको राष्ट्रिय कार्यसमितिको बैठकले शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने निर्णय लियो। यसअघि जुलाई २० मा आयोजित ‘संसद् चलो’ मार्चका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सो क्रममा कैयौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका थिए भने प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो।

हाल यो विषय सर्वोच्च अदालतमा समेत विचाराधीन छ। अदालतमा भएको बहसका क्रममा केन्द्र सरकारले आपराधिक पृष्ठभूमि नभएका व्यक्तिहरूको हकमा दर्ता भएका एफआईआरहरू फिर्ता लिन सकिने आशय व्यक्त गरेको थियो। तर, व्यवहारमा मुद्दा फिर्ता नभएको भन्दै सीजेपीले सरकारलाई आफ्नो संयमतालाई कमजोरीको रूपमा नलिन चेतावनी दिएको छ।

भदौ ८, २०८३ सोमबार १८:५२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।